सम्भावनाको खानी गण्डकी प्रदेशलाई नमुना प्रदेश बनाउनुपर्छ – प्रदेश प्रमुख शेरचन

दीननाथ बराल, पोखरा न्यूज – ०४ , फागुन । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर उकास्ने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख शेरचनले संघियतामा  जनताका धेरै इच्छा र आकांक्षा हुने हुंँदा प्रदेश सरकारलाई अझ बढी सक्रिय भई जनताको जीवनस्तर माथि उठाउने गरी काम गर्न आग्रह गरे  ।

संघियता कार्यान्वयनमा  केही चुनौती देखा परेको भन्दै प्रदेश प्रमुख शेरचनले  संघियताको सफल व्यवस्थापन गर्न  २०६२/६३ सालको जस्तै राष्ट्रिय एकताको आवश्यकता भएको प्रदेश प्रमुख शेरचनको भनाई थियो । संघियताको नयाँ व्यवस्थापनमा प्रदेश सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशमा धेरै सम्भावना भएकोले त्यसको उचित प्रयोग गर्दै  प्रदेशलाई नमुना प्रदेश बनाउनतर्फ सबै अग्रसर हुनुपर्ने बताए । ‘गण्डकी प्रदेशमा अथाहा सम्भावना छ, यो प्रदेश सम्भावना नै सम्भावना बोकेको खानी हो यसलाई उचित योजना र व्यवस्थापनबाट सम्वृद्ध पार्नु पर्छ,’- प्रदेश प्रमुख शेरचनले भने ।  प्रदेश सरकारले गरेका कामको मुल्याङ्कन र अनुगमन गर्दै अनियमितता भएका खण्डमा कारवाही गर्न समेत नचुक्न प्रदेश प्रमुख शेरचनले आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले घोषणा गरेको कार्यक्रम जनताले महशुस हुने गरी कार्यान्वयन गर्न आग्रह गरे । उनले भने “ सरकारले हरेक बर्ष धेरै राम्रा र मिठा मिठा कार्यक्रम ल्याएको छ तर कार्यान्वयनमा कति आए आएनन् त्यसको सरकारले आफै मुल्याङ्कन गरोस् । हामीले आलोचना गर्नु भन्दा पनि जनताले मशुस हुने गरी प्रदेश सरकारले काम गर्नुपर्छ । ” अझै पनि केही मुद्धामा संघिय सरकारले बढी अधिकार राख्ने गरेकोले त्यसको लागि मुख्यमन्त्रीले आवाज उठाएको ठाउँमा आफुहरुले समेत साथ र सहयोग गर्ने नेता नेपालीले बताए । केही कम्पनीलाई प्रभावमा पारी नीति नै आफ्नो पक्षमा पार्ने प्रबृत्ति भएको टिप्पणी गर्दै नेता नेपालीले यूनिक कार्यक्रम ल्याउन आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब कसैलाई दोष देखाएर आफुहरु उम्कन नमिल्ने बताउंँदै प्रदेशलाई पुर्ण रुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश सरकार गठनको पहिलो दिन देखि दुःख पाएको गुनासो गर्दै मुख्यमन्त्री गुरुङले हाल धेरै हिसावले प्रदेश सरकार सक्षम र आत्मनिर्भरतातर्फ उन्मुख भएको बताए । साझा अधिकारको सवालमा स्थानीय, संघिय प्रदेश सरकारको पर्याप्त मात्रमा छलफल आवश्यक भएको बताउदै मुख्यमन्त्री गुरुङले यसमा संघिय सरकारले समयमै कानुन ल्याउनु पर्नेमा जोड दिए । संघिय शासन प्रणालीलाई केहीले बदनाम गर्न लागेको पनि उनले आरोप लगाए ।

प्रदेश सरकारले पहिलो वर्ष  दुई वर्ष भित्रमा प्रदेशमा आधारभुत खानेपानी र उज्यालो प्रदेश बनाउने घोषणा गरे पनि स्थानीय तहले समयमै प्रदेश सरकारसंँग उचित ढंगले समन्वय गर्न नसक्दा आगामी एक वर्ष भित्र आधारभुत खानेपानी र उज्यालो प्रदेश घोषणा गर्ने गरी सरकार लागेको मुख्यमन्त्री गुरुङले जनाए ।

अझै पनि प्रदेशका १४.५ प्रतिशत जनताले कुवा, इनारको खानेपानी प्रयोग गर्ने हुदा उनीहरुलाई समेट्न १ सय ३० परियोजना मार्फत आगामी दुई वर्ष भित्र पुरा हुने गरी एक घर एक धारा अभियान समेत संचालन गर्ने भएको मुख्यमन्त्री जनाए । ९१ वटा आयोजना मार्फत २३ हजार ७ सय धारा निर्माण गरिएको उनले बताए । २ लाख ७४ हजार जनसङख्या यसबाट लाभान्वित भएको मुख्यमन्त्री गुरुङले जनाए । हाल ९ सय ४० आयोजना भने निर्माणाधीन अबस्थामा रहेकोमा ८० भन्दा बढी यसै आर्थिक वर्षमा सम्पन्न हुने अवस्थामा रहेको उनले जनाए ।

प्रदेश सरकार गठन भएको दुई वर्षमा सरकारले २ सय १४ वटा कार्य प्रगति गरेको मुख्यमन्त्री गुरुङले जनाए । कानुनको अभावमा अंँध्यारोमा कुनै कुरा छाम्न नपर्ने अवस्था भएको मुख्यमन्त्री गुरुङले दाबी गरे । प्रदेशको सफलतासंँगै संघीय शासन व्यवस्थाको सफलता गांँसिएको बताउदै मुख्यमन्त्री गुरुङले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा संघ, प्रदेश र स्थानीय तहको सम्वन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।

विभिन्न क्षेत्र समुदाय र वर्गको सुझाव, सल्लाहलाई आत्मसाथ गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकांक्षा सफल पार्न सरकार तत्पर रहेको उनले जनाए । पहिलो वर्ष कानुन वर्षको रुपमा, दोस्रो वर्षमा जग्गा प्राप्ति समस्या रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले संघिय सरकारले हाल प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउन थालेकोले अब धेरै सहज हुने विश्वास व्यक्त गरे । २७ वटा योजनामा जग्गा प्राप्तिका लागि सरकारले योजना अघि सारेको उनले बताए ।

प्रदेश सरकारको कार्यदिशा

प्रदेश सरकारले आर्थिक बर्ष २०८०/८१ भित्र बहुआयामिक गरीबीको सूचकाङक् १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने, प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर १०.२ प्रतिशतमा पुर्याउने, सबै निर्वाचन क्षेत्रलाई सडक सञ्जालले जोड्ने, एक निर्वाचन क्षेत्र-एक सडक निर्माण गर्ने, प्रदेश भित्रका सवै स्थानीय तहका प्रशासकीय केन्द्र जोड्ने सडक निर्माण गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी आगामी आर्थिक वर्ष भित्र गण्डकी प्रदेश उज्यालो प्रदेश बनाउने, प्रदेशका सबै घर परिवारमा आधारभूत खानेपानी सुविधा पुर्याउने, प्रदेश सरकारबाट घोषित एक घर एक धाराको लक्ष्य आर्थिक बर्ष २०८०/८१ भित्र पूरा गर्ने,आर्थिक वर्ष २०८०/८१ भित्र प्रदेशको खाद्यान्न उत्पादन दोब्बर बनाउन कृषि प्रणालीलाई यान्त्रीकीकरण, व्यवसायीकरण र आधुनिकीकरण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ।

मुटु, मृगौला, कलेजो, क्यान्सर जस्ता जटिल रोगको उपचार गर्न विशिष्टिकृत स्वास्थ्य सेवा संचालन गर्ने, प्रदेश भित्र बार्षिक २० लाख पर्यटक भित्राउने, पोखरामा अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न, प्रदेशस्तरिय २ औधोगिक क्षेत्र र सम्भावना देखिएका ५१ स्थानिय तहमा औधोगिक ग्राम स्थापना गर्ने, पोखरामा बहुसांस्कृतिक ग्राम र जूलोजिकल पार्क स्थापना गर्ने, प्रदेश स्तरिय बसपार्क, पोखरा महानगरको सहकार्यमा नगर बसपार्क निर्माण गरिने, प्रदेश प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने योजना प्रदेश सरकारको  रहेको छ ।

त्यसैगरी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा साविक लेखनाथमा बाल अस्पताल सञ्चालन गर्ने, यसै वर्ष गण्डकी विश्वबिद्यालय, गण्डकी प्राविधिक प्रतिष्ठान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी विज्ञान तथा प्रविधि प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, यसै वर्ष पोखरा ३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण गर्ने, फेवातालको संरक्षण र सम्बर्द्धन गर्न यसै वर्ष सिमाङ्कनको कार्य प्रारम्भ गर्ने योजना प्रदेश सरकारले बनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button