पोखरा सराङकोट केबलकार निर्माण अवधि लम्बिँदा लागत ४० प्रतिशतले बढ्यो !

दीननाथ बराल, पोखरा न्यूज – ०६ ,फागुन । पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा दाबी गरिएको अन्नपूर्ण केबलकारको निर्माण कार्य धिमे गतिमा अघि बढ्दा लागत भने करिब ४० प्रतिशतले वृद्धि भएको छ ।

करिब डेढ बर्षमा निर्माण कार्य सकिने भनेर शिलान्यास गरिएको उक्त केबलकार प्रोजेक्ट ३ वर्ष भन्दा बढी समय बित्दा पनि ठ्याक्कै कुन मितिमा सम्पन्न हुन्छ भन्ने  विषयमा संचालक नै  अन्यौलमा  छन । कहिले जग्गा विवाद, कहिले प्राविधिक दक्ष कर्मचारीको अभाव र कहिले नट बोल्ट हराउने जस्ता विविध समस्याले गर्दा निर्माण कार्य लम्बिएको र  प्रोजेक्टको लगानी करिब ४० प्रतिशतले वृद्धि भएको अन्नपूर्ण केवलकारका संचालक निर्देशक मध्यका एक तिर्थराज त्रिपाठीले बताए । उक्त प्रोजेक्ट शुरुमा एक अर्बको लागतमा पुरा गर्ने बताइए पनि हाल लागत एक अर्ब ४० करोड पुग्ने अनुमान गरिएको  त्रिपाठीले पोखरा न्यूजलाई बताए ।

समय लम्बिदै जाँदा केही योजना थप गर्दा पनि लगानी बढ्न गएको निर्देशक त्रिपाठीले बताए । अब नेपालीहरुको नयाँ वर्ष वैशाख एक गते भित्र केबल्कारको परीक्षण गर्ने लक्ष्य राखिएको उनले जनाए । उक्त केबलकारको हालसम्म निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न भएको निर्देशक त्रिपाठीले बताए । केवलकारको तल्लो तथा माथिल्लो स्टेसन र भवनको फिनिसिङको काम हाल भई रहेको उनले बताए ।

केबलकारको लागि तार टाक्ने र गण्डोला राख्ने काम बाँकी रहेकोले त्यस भन्दा अघि टावरहरु टाइट गर्ने विषयमा केही बोल्टहरु हराएकोले गर्दा उक्त निर्माण कार्य करिब २ महिना प्रभावित हुन पुगेको निर्देशक त्रिपाठीले जनाए । उनले भने “ जापानीज कम्पनीले पठाएको मेसिन सहितको सामानमा करिब दुई सय जति बोल्ट हराएकोले गर्दा हाल टावर राम्रोसँग कस्न र तार सहितको गण्डोला राख्ने काम समेत प्रभावित भएको छ ।” उक्त बोल्ट पुनः जापानीज कम्पनिलाई बनाउन लागिएको र आगामी दुई सातामा बोल्ट आउने तयारी भएको उनले जनाए । करिब २ सय वटा बोल्ट हराएको निर्देशक त्रिपाठीले बताए । उक्त केबलकार निर्माणको अन्तिम चरणमा पुगेकोले जापानबाट अनुगमन तथा सुपरीक्षण गर्न दुई जना प्राविधिक टोली समेत पोखरा आएको उनले जनाए ।

उनले भने “ हामीले नयाँ वर्ष अघि नै केबलकार परीक्षण गर्ने तयारी गरे पनि प्राविधिक कारणले गर्दा केही ढिलाई हुन गएको छ, अब भने आउदो वैशाखमा परीक्षणको तयारी गरिएको छ, यदि काम गर्दै जादा बीचमा समस्या नआएमा ।”

पोखरेली तथा पोखरा आउने पर्यटकहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा उक्त केवलकार सेवा संचालनको तयारी गरिएको उनले जनाए । उक्त केबलकारमा प्रयोग हुने डोरी, गण्डोलासहितका मेसिनरी सामानहरु केही महिना अघि नै पोखरामा आइसकेकोले अब त्यसलाई जडान गर्ने कार्य बाँकी रहेको निर्देशक त्रिपाठीले बताए । उक्त केबलकारको लागि १८ वटा टावर निर्माण गरिएको छ ।

माथिल्लो स्टेसनको भवनको माथिल्लो तलामै आर्सिसि बिल्डङमा उच्च स्तरको रेष्टुरेण्ट संचालन गर्ने तयारी गरेकोले उक्त परियोजनामा थप लगानी तथा थप समय लागेको त्रिपाठीले बताए । हाल प्रोजेक्टमा एक अर्ब ४० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले जनाए । नेपाल राष्ट्रिय बाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा बैंकिङ पार्टनरको रुपमा रहेको उनले बताए ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा ( गण्डोला) रहने छन भने प्रति डिब्बमा ८ जनाको सिट क्षमता रहने छ । एउटा डिब्बा सामान बोक्नको लागि तथा बाँकी १७ वटा यात्रुको लागि प्रयोग हुने भएको निर्देशक त्रिपाठीले बताए ।

केबलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षमताको भएको पनि उनले जनाए । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग गरिने भएको अध्यक्ष गुरुङले बताउदै आएका छन् ।

माथिल्लो स्टेशन भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण हुदै छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण हुने भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडल निर्माण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निर्माण गरेकोले पनि लागत बढ्न गएको उनले बताए ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केवलकार निर्माण भएको उनले जनाए । केबलकार निर्माण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button