गण्डकी प्रदेशमा बलात्कार र यौन दुर्व्यवहारका घटनामा ७५ बालिका पीडित

पोखरा न्यूज – ०७, फागुन । गण्डकी प्रदेशमा पछिल्लो  एक वर्षमा बलात्कारमा र यौन दुर्व्यवहारका घटनामा ७५ बालिका पीडित भएका छन्  ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयले बुधवार गण्डकी प्रदेशको मानवअधिकारको अबस्थाबारे जानकारी गराउँदै पत्रकार भेटघाट कार्यक्रम मार्फत सो तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार  सन् २०१९ मा बलात्कारका घटनामा ४२ जना बालिका पीडित भए भने यौन दुर्व्यवहारका घटनामा ३३ बालिका पीडित भएका हुन् । इन्सेकका अनुसार यौन दुर्व्यवहारका घटनामा २ बालक समेत पीडित भएका छन् ।

त्यसैगरी अन्य  बालअधिकारका घटना अन्तर्गत  बालविवाहमा ४ जना र बाल श्रममा ३ जना बालिका पिडित भएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार ५ जना बालकलाई  बिद्यालयमा शारीरिक सजाय दिएको पाइएको छ ।

गण्डकी प्रदेशमा यस अवधिमा महिला अधिकार अन्तर्गत ३ सय १० जना पीडित भएको र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ जना पीडित भएको  तथ्यांकले देखाएको छ ।

अभिलेख अनुसार प्रदेशमा सन् २०१९ मा ६ सय ७९ जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएका छन् । जसअनुसार १५ जना महिला र १ सय ९० पुरुष गरि राज्य पक्षबाट २ सय ५ जना र गैरराज्य पक्षबाट ४ सय १२ महिला र ६२ जना पुरुष  गरि ४ सय ७४ जना पिडित भएका हुन् ।

गण्डकी प्रदेशमा गत वर्ष राज्य पक्षबाट १२ जना महिला र ६१ जना पुरूष र गैरराज्य पक्षबाट ५ सय १५ महिला र ५२ जना पुरूष गरी ६ सय ४० जना पीडित भएको अभिलेख गरिएको थियो ।

प्रदेशमा सन्  २०१९ मा गैरराज्यपक्षबाट १२ जना पत्रकारलाई दुर्व्यवहार भएको र राज्यपक्षबाट ६ जना गिरफ्तारमा परेको  इन्सेकले उल्लेख गरेको  छ ।

कार्यक्रममा  इन्सेक सदस्य तथा बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक दिपकजंग ध्वज कार्की, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाल,नेपाल पत्रकार महासंघ कास्कीका  सल्लाहकार रमेश पौडेल लगायतले  विधिको शासन र मानव बिचको दुरी बढेका कारण  मानवअधिकारका विषयमा समस्या देखिने गरेको धारणा राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button