जर्मनीको गोलीकाण्डमा संदिग्धसहित १० को मृत्यु

पोखरा न्यूज – ०८ ,फागुन । जर्मनीको हनाउमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । घटनामा संलग्न एक संदिग्ध पनि मृत फेला पर्दा मर्नेको संख्या १० पुगेको छ ।

बुधबार साँझ हनाउको दुई हुक्का लाउञ्ज भित्र र बाहिर एक पुरुषले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको थियो । घटनामा अन्य ५ जना घाइतेसमेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पहिलो गोलीकाण्ड मिडनाइट सिसाबार नामक हुक्का बारमा भएको थियो भने दोस्रो गोलीकाण्ड साढे २ किलोमिटर दुरीको एरेना बार एन्ड क्याफेमा भएको जनाइएको छ । पहिलो बारमा गोली प्रहार गरेर उनी एक कालो गाडी लिएर अर्को बार पुगेका थिए ।

घटना पछि फरार संदिग्धलाई ७ घण्टा पछि प्रहरीले उनकै घरमा मृत फेला पारेको हो । घरमा उनले लिएर हिडेँको कार र प्रयोग गरेको हतियार पनि कार भित्रै फेला परेको थियो । त्यहाँ प्रहरीले संदिग्धसहित अन्य एक जनाको शव पनि फेला परेसँगै मृतकको संख्या १० पुगेको हो । हत्याकाण्डको उद्देश्यका बारेमा तथा गोली प्रहारकर्ताको मृत्यु कसरी भयो भन्ने बारे पनि प्रहरीले केही खुलाएको छैन । घटनामा मर्नेहरुको पहिचान खोज्न प्रयास गरिइरहेको प्रहरीले जनाएको छ ।

हनाउ जर्मनीको एक मुख्य शहर फ्र्याङ्कफर्टबाट २० किलोमिटरको दुरीमा रहेको छ ।

( एजेन्सीको सहयोगमा पोखरा न्यूजद्वारा तयार )

सम्बन्धित न्यूज

Back to top button