शिवरात्रीको अवसरमा पोखरामा २ करोड मूल्य बराबरको उखु, ४० प्रतिशत मूल्य सस्तियो

दीननाथ बराल, पोखरा न्यूज – ०८ ,फागुन । पोखरामा शिवरात्री पर्वको अवसरमा करीब २ करोड मुल्य बराबरको उखुको कारोवार हुने भएको छ ।

शिवरात्रीको अवसरमा परम्परागत रुपमा चल्दैै आएको उखु पड्काएर खाने प्रचलनलाई यस बर्ष पनि जीवन्त राख्न पोखरामा यस पालि करीब दुई करोड मुल्य बराबरको उखुको कारोवार हुने भएको व्यावसायीहरु बताउछन् । गत बर्षको तुलनामा पोखरामा यस वर्ष करिब ४० प्रतिशत जति बढी उखु भित्रिएसंगै मुल्यमा केही सहुलियत हुने भएको छ ।

पोखरामा यस बर्ष झापा र धरानबाट कालो जातको उखु भित्रिएसंगै उखुको मुल्यमा गत बर्षको तुलनामा करिब ३० देखि ४० प्रतिशत जति सस्तिने एक व्यवसायी शिव कुमार अधिकारीले बताए । ग्यावारे (कालो) जातको उखु उनले गत बर्ष प्रति मुठा ( २० वटा लाक्रो) लाई ९ सय देखि एक हजारमा बिक्रि गरेकामा यस बर्ष ६ देखि ७ सयमा बिक्रि गरेका छन्। अधिकारीसहित केही व्यवसायीले झापाबाट ४ ट्रक उखु पोखरामा भित्र्याएका हुन्।

गत वर्ष उखु व्यवसायी अधिकारीले ३ लाखको उखुको कारोवार हुदा ८० हजार मुनाफा कमाउन सफल भएकोमा यस बर्ष मुनाफा हुने कम सम्भावना रहेको गुनासो गरे । अर्का उखु व्यवसायी हर्क बहादुर कुवंर यस बर्ष शिव रात्रि पर्वको अघिल्लो दिनसम्म आफुले ल्याएको १ हजार वटा भन्दा बढी उखु बिक्रि नभएकोमा चिन्त्तित भएका छन्। उनले यस बर्ष करिब १ हजार ३ सय वटा मात्र उखु बिक्रिको लागि पोखरा ल्याएका छन्। गोर्खाका अर्को उखु व्यवसायी अमृत कुमाल सहितको एक टोलीले एक ट्रक धरानको कालो जातको उखु पोखरामा बिक्रिको लागि ल्याए पनि सोचे अनुरुपको बिक्रि नभएको गुनासो गरे ।

पोखरामा झापा र धरान सहित मकवानपुर, धादिङ, गोर्खा, स्याङजा लगायतका क्षेत्रबाट यस बर्ष करिब एक सय १० मेट्रिक्टन उखु भित्रिएको कृषि बजार व्यवस्थापन समिति पोखराले जनाएको छ । गत बर्ष पोखरामा करिब ६५ मेट्रिक्टन उखु भित्रिएको समितिका योजना सहायक रुपाकुमारी दाहालले बताइन् । पोखरा भित्रिएको उखुको मुल्य प्रति गोटा (लाक्रो) ३० देखि ८० रुपैयामा विक्रि वितरण भएको छ ।

कालो उखु, ग्यावारे, सानो लगायतका उखुको जात पोखरामा भित्रिएको हो । पोखराका विभिन्न शिव मन्दिर नजिकका पसलहरुमा उखु बिक्रिको लागि राखिएको छ । शिवरात्रि पर्व भोलि (शुक्रबार) देश भरी शिवको पुजा आराधना गर्दैै मनाइने तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Back to top button