कोरोना भाइरसबाट दक्षिण कोरियामा पनि एकको मृत्यु

पोखरा न्यूज – ०८ ,फागुन । कोरोना भाइरसबाट दक्षिण कोरियामा पनि एकजनाको ज्यान गएपछि त्यहाँको सरकारले पच्चीस लाख जनसंख्यालाई घर मै बस्न आग्रह गरेको छ ।

कोरियाको रोग नियन्त्रण केन्द्रका अनुसार भाइरसबाट बुधबार एक ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । यस सँगै चीनबाट फैलिएको कोरोना भाइरसबाट चीनबाहिर बिरामीको मृत्यु हुने देशको संख्या ९ पुगेको छ । यस अघि भाइरसबाट हङकङ, जापान, ताइवान, फ्रान्स र फिलिपिन्समा बिरामीको मृत्यु भइसकेको छ । केन्द्रले अन्य ३५ जनामा पनि भाइरस भेटिएको जनाएको छ जसले कोरियामा भाइरस संक्रमण देखिनेको संख्या कुल १०४ पुर्याएको छ ।

भाइरसबाट मृत्यु भएपछि डेइगु शहरका मेयरले त्यहाँका २५ लाख जनतालाई घर मै बस्न आग्रह गरेका हुन् । मेयरले भाइरस शहरमा व्यापक भएर स्वास्थ्य पुर्वाधारलाई ध्वस्त पार्ने त्रास व्यक्त गर्दै केन्द्रीय राजधानी सोललाई सहयोगका लागि अपिलसमेत गरेका थिए । रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो दिनमा भाइरस देखिएका ३५ जनामध्ये २८ जना डेइगु चर्चमा प्रार्थनाका लागि पुगेका थिए ।

सो चर्चमा पहिले नै भाइरस संक्रमित भेटिएको एक ६० वर्षीया महिलाको सम्पर्कमा आएपछि २८ जनामा पनि भाइरस देखिएको जनाइएको छ । भाइरस फैलिएसँगै त्यहाँको २ लाख प्रार्थनार्थी भएको एक चर्चले देश भएका आफ्ना सबै ७४ चर्च बन्द गराएको छ ।

कोरोना भाइरसबाट हालसम्म विश्वभर २१ सय भन्दा बढीको मृत्यु तथा लगभग ७५ हजार जनामा संक्रमण देखिइसकेको छ ।

सम्बन्धित न्यूज

Back to top button