पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप, २ गम्भिर घाइते

पोखरा न्यूज – ०८, फागुन । पोखराको पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी समुहबिच बिहीबार सामुहिक झडप भएको छ ।

नेकपा निकट अनेरास्ववियु र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेवि संघका सदस्यहरु बिच भएको झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भिर घाइते भएका हुन् ।  घाइते दुबैको मणिपाल अस्पतालमा सघन उपचार कक्षमा उपचार भैरहेको  छ ।  दुई विद्यार्थी संगठन बीच क्याम्पस परिसरमै हानाहान भएको हो  ।

उनीहरु माथि नेवि संघका सतिश बास्तोलाको नेतृत्वको टोलीले रड प्रहार गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाको दावी छ  । ‘दोहोरो हानाहान हो,’ उनले भने, ‘तर, ज्यान मार्ने उद्देश्यले हतियार प्रहार भयो ।’

यसअघि, अनेरास्ववियुका विराट र विशालले नेविसंघका सतिशमाथि पनि हमला गरेका थिए । संगठनमा आबद्ध भए पनि व्यक्तिगत रिसिबी साँध्न सांगठनिक हमला गरिएको अनेरास्ववियुले बताएको छ ।

नेवि संघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कुटाकुट भएको प्रष्ट्याए । उनका अनुसार नेवि संघका केही सदस्य पनि कुटाकुटबाट घाईते छन् । ‘संगठनले त यस्ता झगडामा नलाग्नुस् भनेका छौं,’ उनले भने । वार्ताको माध्यमबाट कुरा मिलाउँने पक्षमा आफूहरु रहेको उनले सुनाए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार झगडा भएको जानकारी पाए पनि अहिलेसम्म कुनै जाहेरी भने परेको छैन । ‘झगडा भएको भन्ने त हामीले थाहा पाएका हौं,’ उनले भने, ‘तर, कुन संगठन निकट हो भनेर हामीलाई जानकारी आएको छैन । लिखित/मौखिक कुनै पनि किसिमको जाहेरी हामीलाई परेको छैन ।’

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button