पोखरामा साढे ३ करोडको लगानीमा नेपाली परम्परा झल्कने पोखरा हेभेन रिसोर्ट

दीननाथ बराल, पोखरा न्यूज – ०९ ,फागुन ।  पोखरा-२८ कालिका स्थित चार्ल्स हिल डाँडामा नेपाली परम्परा झल्कने रिसोर्ट निर्माण भएको छ । अमेरिका, जापान, कोरिया लगायतका देशमा बसेका गैर आवासिय नेपाली सहितको ५ सदस्यीय युवा टोलीले पोखरा हेभेन रिसोर्ट निर्माण गरेका हुन् ।

बेलायतका राजकुमार चार्ल्सले घुमघामको क्रममा एक रात बिताएको उक्त डाँडामा रिसोर्ट निर्माण गरेसंगै केही दिन देखि नै संचालन गर्ने तयारी गरिएको रिसोर्टका प्रमुख कार्यकारी अधिकृत प्रवेश राजभण्डारीले बताए । उनले भने “ हामीले आफ्नो देशमा केही गर्न चाहान्छौं, हामीसँग टिमवर्क भएको राम्रो टिम छ, भविष्य देखेर हामीले प्रा.लि. मार्फत ठुलो लगानी यस डाँडामा गर्दैछौं ।”

नेपाली परम्परा झल्कने ढुंगा, माटो तथा काठबाट निर्माण भएको उक्त रिसोर्टमा क्याम्पफायर सहितको बार्बेक्यू सहितको अर्ग्यानीक खानाको व्यवस्था गरिएको संचालक मध्यका एक प्रकाश गुरुङले बताए । गत फागुनमा निर्माण कार्य सुरु गरिएको उक्त रिसोर्टको शिवरात्रि पर्वको अवसरमा शुक्रबार भने पुजा गरी शुभ साइत गरिने भएको उनले जनाए ।

शनिबार देखि उक्त रिसोर्ट सफ्टओपनिङ गरेर संचालनमा ल्याइने संचालक गुरुङले बताए । उक्त रिसोर्टमा हाल ९ वटा रुम रहेका छन भने करिब १० वटा क्याम्पिङ टेण्ट राखिएका छन्। उद्घाटनको अवसरमा उक्त रिसोर्टमा १ हजार ५ सय देखि ५ हजार मुल्य बराबरका रुमहरु उपलब्ध गराएको संचालक गुरुङले बताए । नेपाली खाना, लोकल कुखुरा, हाँस, टर्की, बटाईको मासु लगायतका अर्ग्यानीक खानामा आफुहरुको विशेष जोड रहेको उनले बताए ।

मौसम खुल्दा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश हिमाल लगायतका हिमश्रृंखला देख्न सकिने अति रमणिय चार्ल्स हिलमा प्राकृतिक रुपमा चराचुरुङगीको आवाज आउने र लाली गुराँस फुल्ने जंगल संगै रहेको संचालक गुरुङले बताए । साथै रिसोर्टमा भ्यू टावर, पिङ, पानीको फोहोरा, गार्डेन सहितको संरचनाले आगन्तुक पाहुनलाई थप आकर्षित गर्ने उनले बताए ।

कालिका बजार देखि करिब ३ सय मिटर माथिको उचाईमा रहेको उक्त रिसोर्टमा पुग्न विजयपुरखोला देखि करिब ८ किलोमिटर उत्तर पूर्व लाग्नु पर्छ । उक्त रिसोर्टमा जानको लागि यातायात सेवाको समेत प्रबन्ध गरिएको संचालक गुरुङले जनाए । करिब साढे ३ करोडको लगानीमा उक्त रिसोर्ट संचालनमा ल्याउने अन्तिम तयारी गरेको उक्त टोलीले २७ करोडको प्रोजेक्टमा थप ४४ रुम सहितको स्वीमिङ पुल, स्पा, जिम हल, सभाहल सहितको भौतिक संरचना गर्ने भएको छ । पिकनिक स्पटको रुपमा समेत आफुहरुले त्यस क्षेत्रलाई थप व्यवस्थित पार्न खोजेको सिइओ राजभण्डारीले बताए ।

प्रालिको उक्त टोलीमा गुरुङ, राजभण्डारी सहित अनुपकुमार पहारी, दीपक गुरुङ र राम श्रेष्ठ रहेकाछन्। बागलुङ स्थायी घर भई हाल काठमाण्डौं बस्दै आएका राजभण्डारी जापानमा २७ बर्ष बसेको अनुभव छ भने तनहुँका प्रकाश १२ बर्ष अमेरिका बसाई पछि हाल काठमाण्डौं बस्दै आएका थिए । पहारी नवलपरासीका हुन भने दीपक तनहुँका हुन् । श्रेष्ठ भने पर्वतका हुन्।

अनुप लायन्स क्लवमा आवद्ध छन भने दीपक मेडिकल पर्सन हुन् । उक्त रिसोर्टले हाल करिब १५ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ भने फुल फेजमा रिसोर्ट र होटल समेत संचालनमा आउदा एक सय जनालाई रोजगार दिने भएको छ । उक्त रिसोर्ट देखि करिब एक सय ५० मिटर पश्चिम तर्फको अर्को डाँडामा होटल सहितको थप अर्को संरचना निर्माण गर्न प्रा.लि. जुटेको छ ।

एक वर्ष भित्र उक्त योजना पुरा गर्ने लक्ष्य राखेको प्रा.लि.ले जनाएको छ । उक्त रिसोर्ट बनेसंगै स्थानिय जग्गाको मुल्य समेत बढ्न गएको स्थानीय सुमन पौडेलले बताए । उनका अनुसार सन १९८२ मा वेलायतका राजकुमार चार्ल्सले रोयल ट्रेक पैदल यात्रा गर्दै उक्त डाँडामा राति बास बसे पछि उक्त डाँडाको नाम नै चार्ल्स डाँडा भएको हो ।

सम्बन्धित न्यूज

Back to top button