मुख्यमन्त्री कपका विजेता र उपविजेताले पाएनन् नगद पुरस्कार !

दीननाथ बराल, पोखरा न्यूज – ०९ ,फागुन । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता २०७६ का विजेता र उपविजेताले प्रतियोगिता सम्पन्न भएको तीन साता बित्दासम्म नगद पुरस्कार हात पार्न सकेका छैनन्।

गत माघ १४ गते पोखरा २९ भण्डारढिकमा सम्पन्न भएको फाइनल खेलमा लमजुङको त्रिबेणी युवा क्लव बिजयी भएको थियो भने कास्कीको आदर्श युवा क्लव उपविजेता भएको थियो । प्रतियोगितामा विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख नगद पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएको तीन साता बित्दासम्म पनि आफुहरुले विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार हालसम्म दिन नसकेको प्रतियोगिताका सचिव आनन्द रञ्जितले बताए ।

उनले भने “ गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको २० लाख रुपैयाले होटलमा तथा रेफ्रिहरुको खर्च व्यवस्थापन गरिएको छ भने प्रदेशबाट थप आउने २० लाख रुपैयाले नगद पुरस्कार र होडिङ बोर्ड तथा मञ्च व्यवस्थापनको लागि खर्च गर्नेछौं । ” उक्त प्रतियागिताबाट करिब ८ लाख बचत हुने उनले जनाए ।

बचत रकम एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्देशन दिए अनुरुप प्रतियोगितामा सहभागि टिमलाई फुटबल सहितको खेल सामाग्रि प्रदान गरिने भएको सचिव रञ्जितले बताए । प्रदेशका नगरपालिका तथा महानगरपालिकाबाट समेत केही रकम संकलन हुने भए पनि आफुहरुसँग रकम संकलन गर्ने टिम अभाव भएकोले समयमै पैसा उठाउन नसकिएको उनले जनाए ।

एन्फा लमजुङका अध्यक्ष लोकेन्द्र गुरुङले उक्त प्रतियोगिताको विजेता लमजुङको त्रिवेणी क्लवलाई आयोजक कमिटिले अर्को सातामा नगद पुरस्कार दिने आश्वासन दिएको बताए । गत माघ ७ गतेदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप लिक फुटबल प्रतियोगितामा ९ जिल्लाको सहभागिता भएको थियो ।

एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाको संयोजकत्वमा प्रतियोगिता सम्पन्न भएको हो भने कोषाध्यक्षमा एन्फा प्रदेश उपाध्यक्ष मिलन गुरुङ रहेका थिए ।

सम्बन्धित न्यूज

Back to top button