आहा ! रारा गोल्ड कपमा १० टिम सहभागि हुने, विजेतालाई १० लाख पुरस्कार

दीननाथ बराल, पोखरा न्यूज – १० ,फागुन ।  यही फागुन २२ गतेदेखि पोखरामा संचालन हुने १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७६ मा एक विदेशीसहित १० टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा भारतको गान्टोक सिटी फुटबल क्लबसहित १० टिमको सहभागिता हुने सहारा क्लबले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब, गत बर्षको उपविजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल आयल निगम मनाङ मर्याङदी क्लब, ब्रिगेट व्बाइज क्लब, संकटा क्लब, झापा-११ फुटबल क्लब र आयोजक सहारा क्लब सहभागि हुने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।

प्रतियोगिताको पुरस्कार राशीमा यस वर्ष वृद्धि गरिएको छ । पुरस्कार राशीमा वृद्धि गरी प्रतियोगिताका विजेतालाई १० लाख एक हजार रुपैया साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष थापाले बताए । त्यसैगरी उपविजेतालाई ५ लाख १ हजार रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । यस अघि प्रतियोगिताका विजेताले ७ लाख एक हजार र उपविजेताले ३ लाख ५० हजार रुपैया प्राप्त गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार ५ सय रुपैया खर्च हुने क्लबले जनाएको छ । प्रतियोगिताबाट एक करोड १८ लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने १९ लाख रुपैया सहारा एकेडेमीको लागि खर्चिने छ । यसपाली प्रायोजक तथा सह-प्रायोजकसहित धेरै दाताहरुको सहयोग प्राप्त भएकाले क्लबले अपेक्षा गरे अनुसार आम्दानी गर्न सफल हुने अर्थ समितिका संयोजक सुनिल गुरुङ बताए ।

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्धेश्यका साथ आयोजना हुने प्रतियोगितालाई हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने छ ।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रतियोगिताले थप टेवा  पुग्ने क्लबले जनाएको छ । नवप्रतिभावान फुटबल खेलाडीलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान समेत गरिने महासचिव अधिकारीले बताए । ३५ हजार नगद सहित प्रमाण-पत्रको साथमा दोसल्ला ओढाई सम्मान गनिरेछ ।

उक्त अवसरमा सहारा युकेका महासचिव धनु थकालीले क्लबका अध्यक्ष थापालाई ट्रफि हस्तान्तरण गरेका थिए । केही बर्ष देखि म्यान अफ दी म्याच तथा विभिन्न विधामा उत्कृष्ट हुने ५ जना खेलाडीको ट्रफि सहारा युकेले प्रायोजन गर्दै आएको छ ।

क्लबका अध्यक्ष थापाले यस बर्ष कोरोना भाइरसका कारण भारतको एक टिम बाहेक अन्य विदेशी टिम सहभागि गराउन नसकिएको जनाए । जापान, क्याम्रुङ, भारत दिल्लीबाट समेत केही क्लबहरुसंग कुराकानी भए पनि अन्तिम समयमा कोरोना भाइरसका कारण सहभागि नभएको उनले जनाए । क्लबले यसपाली आफ्नो टिममा विदेशी खेलाडी सहितको बलियो टिम तयार पार्दै गरेको अध्यक्ष थापाले जनाए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले आहा रारा गोल्ड कपमा यसपाली रंगशालाका सबै तर्फका ढोका खुल्ला गर्ने बताए । पोखरा रंगशालामा प्याराफिटसहितको फुटबल मैदान निर्माणकै क्रममा भएकोले प्याराफिट तथा सौचालयमा सुरक्षाकर्मी एवं स्वयमसेवक खटाउन उनले आग्रह गरे ।

होली पर्वको अवसरमा पोखरा रंगशालामा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको सदस्य गुरुङले बताए । सहारा फूटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु रहेका छन्।

सम्बन्धित न्यूज

Back to top button