विशेष बन्यो गजल वाचनको २ सय औँ श्रृंखला

राजाराम पौडेल, पोखरा न्यूज – ११ ,फागुन । गजल सन्ध्या पोखराको नियमित गजल वाचनको दूई सय औँ श्रृंखला शनिबार पोखरामा आयोजना गरियो ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको कार्यक्रममा गजल सन्ध्या पोखराको अध्यक्षको कार्यकाल पुरा गरिसकेका ८ जना गजलकारले आफ्नो रचना सुनाउदै माहोल गजलमय बनाए ।

नियमित गजल वाचनको १७ वर्ष पुरा गरेको अवसरमा संस्थाले आफुहरुलाई पुनः विगतका दिनको स्मरण गर्न स्टेजमा उतारेकोमा उनीहरु सबैले खुशी व्यक्त गरे । हरेकले दूई चरणमा गरी आफ्ना ५ वटा गजल सुनाउदै उपस्थित गजलप्रेमी दर्शकको ध्यान खिचे ।

यसरी गजल वाचन गर्नेमा दिलिप दोषी, दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदीपराज ढुंगाना, विर्सना बस्नेत र अमृत सुवेदी थिए । यसरी विशेष गजल वाचनमा ८ गजलकारका ४० गजल वाचन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभत्त श्रेष्ठ थिए । उनले सबै पूर्व अध्यक्षलाई एउटै स्टेजमा उतार्न सफल भएकोमा वर्तमान कार्यसमितिप्रति खुशी व्यक्त गरे ।

गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव त्रुपकले गरेका थिए । गजल सन्ध्या पोखराले हरेक महिना नियमित गजल वाचन कार्यक्रम गर्दै आएको छ ।

 

सम्बन्धित न्यूज

Back to top button