पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी/एमएस परीक्षा विधि संगत नभएको आरोप

दीननाथ बराल, पोखरा न्यूज – ११ ,फागुन ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार पोखरामा लिएको एमडी र एमएसको छनौट परीक्षा विधि संगत नभएको विद्यार्थीले आरोप लगाएका छन् ।

नेपाल सरकारको तर्फबाट ९ जना र अन्य गरी १७ जनाको छनोट गरिने उक्त परीक्षा निर्धारित समयमै नभएको, प्रश्नपत्र शिलवन्दी नभएको भन्दै केही परीक्षार्थीहरुले परीक्षा बहिस्कार गर्दै विधि संगत ढंगले परीक्षा नभएको आरोप लगाएका हुन्।

पोखराको अम्मरसिह माविमा भएको उक्त परीक्षा केही बिद्यार्थीहरुले विधि संगत नभएको भन्दै बहिस्कार समेत गरेका छन् । परीक्षा दिन काठमाण्डौंबाट पोखरा आएका डा.रवि गुप्ताले परीक्षा प्रणाली पारदर्शी र विधि संगत नभएकोले आफु सहित २ सय भन्दा बढीले परीक्षा नदिएको गुनासो गरे ।

उनले भने “ एम.डी. जस्तो परीक्षामा सेट ए र सेट बीको प्रश्नपत्र हुनु पर्थ्यो, नेपालको हरेक परीक्षामा यसको व्यवस्था हुन्छ हाम्रोमा किन भएन, परीक्षा दिने समय दिउँसो २ः०० बजे भने पनि किन एक घण्टा पछि मात्र परीक्षा लिन शुरु गरियो यसको हामीलाई चित्त बुझ्दो उत्तर चाहिन्छ । ”

केही विद्यार्थीले प्रश्नपत्र नपाउदै केहीले प्रश्नपत्र लिएर बाहिर हिंडेको र शिलवन्दी नगरी प्रश्नपत्र ल्याएको भन्दै त्यसको बिरोधमा आफुहरु परीक्षा केन्द्र अम्मरसिंह माविको गेट बाहिर परीक्षा बहिस्कार गरेको उनले बताए । अर्को परीक्षार्थी डा.हुलास अग्रवालले परीक्षा निष्पक्ष र विधि संगत नहुदा धेरै विद्यार्थीहरु अन्यौलमा भएको गुनासो गरे ।

यस बिषयमा प्रतिष्ठानका सिनेट सदस्य डा. भरत खत्रिले विद्यार्थीहरुले विवाद गरेको बिषयमा हाल छलफल हुदै गरेको बताए । छलफल पछि के कारणले गर्दा परिक्षामा समस्या आएको त्यसको बारेमा बताउने उनले जनाए ।

सम्बन्धित न्यूज

Back to top button