पोखरा क्षेत्रमा कर छलीका मोबाइल छ्याप छ्याप्ती ! लाखौं राजश्व छली

दीननाथ बराल, पोखरा न्यूज – ११ ,फागुन । पोखरा क्षेत्रमा हिजो/आज भारतबाट अवैध रुपमा भित्रिका मोबाइल छ्याप छ्याप्ती बिक्रि-वितरण भएको छ । भन्सार छलेर भारतबाट विभिन्न मोडलका मोबाइलहरु पोखरा क्षेत्रमा हिजोआज छ्याप छ्याप्ती बिक्रि वितरण भएको नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशले जनाएको छ ।

नेपालमा आधिकारीक रुपमा भित्रिनु एक महिना अघि नै अवैध रुपमा पोखरा बजारमा विभिन्न कम्पनीका मोबाइलहरु विभिन्न पसलबाट बिक्रि भइरहेको व्यवसायीहरुको आरोप छ । मल्टीनेश्नल कम्पनी भारतमा लन्च भएको दुई/तीन दिनमै नेपालमा विभिन्न मोवाइल बिक्रि वितरण हुन थालेको संघ गण्डकी प्रदेश अध्यक्ष शिव पहारीले गुनासो गरे ।

उनले भने “ यति बेला पोखरा क्षेत्रमा करिब ५० प्रतिशत अवैधका मोबाइल बिक्रि वितरण भएको छ, यसको रेखदेख र अनुगमन कस्ले गर्दा, यसबाट आम उपभोक्ताले तत्काल केही सहुलियतमा मोबाइल हात पारे पनि बिक्रि पछिको सेवा प्राप्त गर्न कठिन हुन्छ । ” पोखरा क्षेत्रमा मासिक करिब ६ करोडको मोबाइलको कारोवार हुने बताएका अध्यक्ष पहारीले हाल अवैधका मोबाइल नै करिब ५० प्रतिशत जसो बिक्रि भएको दाबी गर्छन ।

रियल मीको एक्स टु, एक्स टी, भिभोको वाई नाइन्टी लगायतका मोबाइल पोखरा क्षेत्रमा अवैध रुपमा बिक्रि वितरण भएको व्यवसायीहरुले दाबी गरेका छन  । सामान्यतया १२ हजारदेखि ४० हजार मुल्य बराबरका मोबाइलमा यसरी अवैध रुपमा भन्सार छली पोखरा क्षेत्रका विभिन्न मोबाइल पसलमा बिक्रि हुँदा पसलेहरुले अवैध मोबाइलमा एक हजारदेखि ३ हजार भन्दा बढी नाफा आम्दानी गर्ने  र भ्याट बिल समेत काट्न नपर्ने हुँदा अवैध मोवाइलको कारोवार बढेको  अध्यक्ष पहरीले बताए ।

अघिल्लो सरकारले दुई बर्ष अघि ‘हात हातमा मोबाइल, घर घरमा इन्टरनेट’को अभियान ल्याएको थियो । जुन अभियान अन्तर्गत  मोबाइल आयातकर्तालाई भ्याट बिल संकलन पश्चात सरकारले पुनः १३ प्रतिशत रकम फिर्ता गर्दा धेरै मोबाइलहरु बैधानिक रुपमा नेपालमा बिक्रि वितरण हुने गरेको बताएका अध्यक्ष पहारीले हाल सरकारले भ्याट फिर्ता नगर्ने भएसंगै केही व्यवसायीले अवैध रुपमा भन्सार छली मोबाइल नेपाल भित्राउदै बिक्रि वितरण गर्न थालेको हुन सक्ने जनाए । पोखरा क्षेत्रमा करिब एक सय भन्दा बढी मोबाइल पसलहरु रहेका छन्।

संघका केन्द्रिय सदस्य मनोहर श्रेष्ठले बजारमा अवैध मोबाइलले बजार लिदा वैधानिक रुपमा करोडौं लगानी गरी मोबाइल पसल संचालन गर्नेहरु प्रतक्ष्य प्रभावित हुने जनाए । ओप्पो, सामसुङ, भिभो, रियल मी लगायत ब्राण्डको नयाँ मोबाइल बजारमा अवैध  रुपमा भित्रिन थालेको उनले जनाए । बजारमा जथभावी रुपमा अवैध मोवाइलले बजार लिदा आफुहरु ठुलो मर्कामा परेको उनले गुनासो गरे ।

टि.एन.इन्टरप्राइजेजका संचालक तारानाथ आचार्यले सस्तोमा मोबाइल पाए भन्दैमा नकिन्न आम उपभोक्तालाई आग्रह गर्दै वारेन्टी विनाका अवैध सामान चोरीका समेत हुन सक्ने बताए । कपडा, प्याज, तरकारीमा समेत भन्सार छली विभिन्न ब्राण्डका मोबाइलहरु नेपाल भित्रिएको हुन सक्ने उनले बताए ।

यस बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बजारमा अवैध मोबाइल भित्रिएको बिषयमा आन्तरिक राजश्व कार्यालयलाई अनुगनम गर्न निर्देशन दिने बताए । अवैध सामान भित्रिने बिषयमा भन्सार कार्यालयले र अन्य जिल्लामा यसको राम्रो अनुमगन हुनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्यूज

Back to top button