दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, ७ को मृत्यु, ७ सय ६३ सङ्क्रमित

पोखरा न्यूज । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गर्नु भएको छ । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १ सय ६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७ सय ६३ पुगेको सोमबार जनाइएको छ ।

त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या २ हजार ५९२

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ५ सय ९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ । तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या लगातार करिब १ सय  रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ ।

सङ्क्रमित हुनेको सङ्ख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिनु भएको थियो ।

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए ।

“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,” उनले भने ।

इरानमा १२ जनाको मृत्यु

इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुनेको व्यक्तिको संख्या १२ पुगेको संसदका एक प्रवक्ताले बताएका छन् ।

संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दैै अर्ध सरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७ जनामा देखिएको जनाएको छ ।

अफगानिस्तान, बहराइन र कुवेतमा पनि सङ्क्रमण

एएफपीका अनुसार अफगानिस्तान, बहराइन र कुवेतमा कोरोना सङ्क्रमित व्यक्ति फेला परेको छ । कुवेतमा फेला परेका सङ्क्रमित तीन व्यक्ति इरानबाट आएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् । -रासस

सम्बन्धित न्यूज

Back to top button