इटालीमा पनि कोरोना भाइरसबाट ४ को मृत्यु

पोखरा न्यूज । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो ।

इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १ सय ५० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन् ।

लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन । स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।

कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् ।

इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन् । अधिकारीहरुले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन् । -रासस

सम्बन्धित न्यूज

Back to top button