महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा ४१ लाखको विशेष पूजा

पोखरा ।  महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा ५ सय ३ वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

महाशिवरात्रिका दिन विशेष पूजा गर्न चाहने भक्तजन धेरै भए पनि रात्रिकालीन समयमा मात्र अधिकांशलाई अवसर दिन सकिएको कोषले जनाएको छ । त्यस दिन बिहान २७ र दिउँसो १३ विशेष पूजा भएको थियो । बाँकी विशेष पूजा बेलुकी ८ बजे दर्शनार्थी भक्तजनको लाइन सकिएपछि गरिएको थियो । अधिकांश भक्तजनले रु २७ हजार र रु ५१ हजार बराबरको पञ्चामृत स्नान सहितको विशेष पूजाका लागि रसिद काटेका थिए ।

विसं २०६६ चैत २६ गतेदेखि पशुपतिमा हुने विशेष पूजा र भक्तजनले चढाउने भेटीघाटी दानपेटिकामा राख्न लगाई मासिकरूपमा कोषमा दाखिला गर्ने व्यवस्था गरिएको छ । वार्षिक विशेष पूजाबाट रु सात करोड र भेटीघाटीबापत रु छ करोड गरी रु १३ करोड उठ्ने गरेको प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए ।

वार्षिकरूपमा यही कोषबाट भट्ट, भण्डारीलगायत कर्मचारी तलबलगायत चालू खर्च हुन्छ । चालू खर्च कटाएर हालसम्म रु २३ करोड बचत रहेको कोषले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Back to top button