कोरोना भाइरस लागेको पोखरेली पर्यटन!

पोखरा । कोरोना भाइरसका कारण पोखराको पर्यटन क्षेत्रमा प्रभाव परेको छ  ।  पर्यटनको मध्य सिजनको रुपमा लिइने फेब्रुअरी महिनामा पोखरामा पर्यटक आगमनमा ह्वात्तै घटेसंगै पोखरा क्षेत्रको पर्यटन व्यवसायमा कोरोना प्रभाव पर्न थालेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन्।

अघिल्ला वर्षमा यसै समयमा होटलका अकुपेन्सि करिब ४० देखि ५० प्रतिशतसम्म भए पनि अहिलेसम्म अकुपेन्सि  करिब १५ प्रतिशतमा झरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । चाइनाबाट शुरु भएको कोरोना भाइरस कोरियासहितका विश्वका केही देशमा यसको संक्रमण देखिएसंगै हिडडुल गर्न धेरै कम भएसंगै पोखरामा विदेशी पर्यटक आगमनमा कमी आउँदा पर्यटन क्षेत्र नराम्रोसंग  प्रभावित भएको अध्यक्ष तुलाचनले जनाए ।

उनले भने “ कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा असर पारेसंगै नेपालको अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने हुँदा नेपालको पर्यटन प्रवर्द्धन गर्न भारत, बंगलादेश, श्रीलङका, म्यानमारसहितका एशियन देशहरुमा केन्द्रित हुनु पर्छ ।” एशियन देशसंग नेपालको धार्मिक तथा सांस्कृती केही पक्षहरु मिल्दोजुल्दो हुँदा निजी क्षेत्र र नेपाल सरकारको ध्यान जानुपर्ने उनको जोड थियो ।

चीन, कोरिया, अमेरीकासहितका मुलुकका पर्यटक पोखरा आउने वातावरण सृजन गर्न करिब ६ महिना समय लाग्ने उनले पूर्व अनुमान समेत गरेका छन्। चीनमा उत्पादित धेरै वस्तु तथा सेवा नेपालसहित विश्वभर जाने गरेपनि हाल रोकिएकाले यसले मुल्यमा समेत प्रभाव पर्ने अध्यक्ष तुलाचनले दाबी गरे ।

रेवान पोखराका अध्यक्ष भिमशेन भुजेलले कोरोना भाइरसका कारण पोखरा क्षेत्रको रेष्टुरेण्ट व्यवसायीहरु समेत धरासाही अवस्थामा पुग्न लागेको बताए । उनले भने “ यति बेला पोखरामा पर्यटक न्यून सङख्यामा छन्, चाइनामा कोरोना भाइरसको संक्रमणबाट मानिसहरु मर्न थालेको समाचार आएसंगै पोखरामा चाइनिज लगायत विदेशी पर्यटकको आगमनमा ह्वात्तै कमी आएको छ । ” यही अवस्थामा केही महिना अघि बढेको खण्डमा केही पर्यटन व्यवसायीहरुले बैंकलाई व्याज समेत तिर्न नसक्ने अवस्थामा पुग्ने उनले जनाए ।

द्धन्द्ध काल र भूकम्पको समयमा भन्दा पनि यति बेला कोरोना भाइरसका कारण पोखरा क्षेत्रको पर्यटन व्यवसायी धराशायी बन्दै गएको एक पर्यटन व्यवसायी श्याम लामिछानेले बताए । नाइस नेपाल टुर्स एण्ड ट्राभल्स एवं होटल भर्जिन पोखराका संचालकसमेत रहेका युवा उद्यमी लामिछानेले पर्यटक आगमनमा प्रायः ठप्पै जस्तै भएको हुँदा आफुहरुलाई यसले धेरै असर पार्न थालेको गुनासो गरे । पोखराको एक मात्र पाँच तारे होटल ग्राण्ड पोखरामा पनि कोरोना भाइरसको प्रभाव परेको छ । अघिल्ला वर्षमा यस सिजनमा करिब ८० देखि ९० प्रतिशत होटल अकुपेन्सि हुने गरेकोमा यस सिजनमा मुस्किलले ४५ प्रतिशत पुग्ने होटल ग्राण्डकी फन्ट अपिस म्यानेजर सम्झाना गुरुङले बताइन्।

पोखरामा सडक मार्ग हुँदै आउने विदेशी पर्यटकको सङख्यामा हाल करिब ८० प्रतिशत कमी आएको नाट्टा संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । पोखरा-काठमाण्डौं, पोखरा-चितवन र पोखरा-लुम्बिनीमा दैनिक चल्ने पर्यटक गाडीमा हाल यात्रुको सङख्या घट्दा बैंक किस्ता तिर्नु भन्दा पनि कर्मचारी र तेल हाल्ने पैसा उठान समेत मुस्किल परेको अध्यक्ष सिग्देलले गुनासो गरे । केही कम्पनीहरु बिच समन्वय गरी चलेको खण्डमा केही सहज हुने अन्यथा हालको अवस्था निकै नाजुक भएको उनले बताए । उनले भने “२२ देखि ३५ सिटे पर्यटक स्तरिय बसमा हाल ४ जनासम्म यात्रु बोकेर हिड्नु परेको छ, यो अवस्थामा कसरी तेल र कर्मचारीको खर्च धान्ला त । ”

हवाई उडानबाट पोखरा आउने विदेशी पर्यटकहरुलाई कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा उनीहरुको पोखरा नागरिक उड्डयन कार्यालयमा स्वास्थ्यकर्मीको टोलीले सचेतना र शकांस्पद व्यक्ति भएमा निगरानि गर्न थालेकोे पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख भोला प्रसाद गुराँगाईले बताए । उनका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणका कुनै व्यक्तिको पोखरामा पहिचान भएको छैन्। स्वास्थ्य मन्त्रालयको एक टोलीले बिहान देखि बेलुकासम्म विभिन्न ठाउँबाट हवाई उडान हुदै पोखरा आउने पर्यटकलाई सचेतना गराउदै पम्प्लेट वितरण गर्दै टोलीले सामान्य स्वास्थ्य अबस्था बुझ्दै आएको प्रमुख गुराँगाइले बताए ।

कोरोना भाइरसका कारण विदेशी पर्यटक आगमनमा कमी भएपनि आन्तरिक पर्यटकले गर्दा हाल हवाई फ्लाइटमा खासै प्रभाव नपरेको उनले जनाए । कोरोना भाइरसका कारण पोखरामा  करिब २० प्रतिशत मात्र विदेशी पर्यटक आगमन भएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराईले बताए । उनले भने “विदेशीहरु स्वास्थ्यमा बढी सजग हुने हुँदा कोरोना जस्तो प्राणघातक रोगको कारण घुमघाममा ननिस्केका कारण नेपाल सहित विश्वका धेरै मुलुकमा यसले प्रत्यक्ष असर पारेको छ भने हाम्रो नेपाल र पोखरा पनि यसबाट अछुतो रहेको छैन्। ”

कोरोना भाइरसका कारण विदेशी पर्यटक सहज ढंगबाट नेपाल आउने वातावरण भने सेप्टेम्बरसम्म लाग्न सक्ने उनले बताए । नेपालीहरु पछिल्लो समयमा घुमघाममा निस्कने प्रचलन बढेका कारण पोखराको हाल २० प्रतिशत पर्यटकमा जसमा १० प्रतिशत भन्दा बढी आन्तरिक पर्यटक भएको उपाध्यक्ष भट्टराईले जनाए । चाइनिज, कोरियन, अमेरीकन, युरोपियन सहितका पर्यटकहरु आगमनमा हाल ह्वात्तै कमी आउदा यसबाट समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पर्न थालेको उनले बताए ।

सम्बन्धित न्यूज

Back to top button