रबिन्द्र अधिकारीको प्रथम स्मृतिमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना हुने

पोखरा न्युज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको प्रथम स्मृति सभाको अवसरमा यही फागुन १५ गते पोखरामा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।

नेकपाका युवा नेता रबिन्द्र अधिकारीको  गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको एक वर्ष पुगेकोमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले यही फागुन १५ गते प्रथम स्मृति सभाको अवसरमा पोखरामा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यही फागुन १५ गते नेता अधिकारीको दुर्घटना भएको दिनमा पोखरा सभागृहमा प्रथम स्मृति सभा आयोजना हुने भएको प्रतिष्ठानका महासचिव धनराज आचार्यले बताए । उनले भने “ गत जेठ १८ गते प्रधानमन्त्रि केपी शर्मा ओलीले रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान को घोषणा गर्नु भएको थियो, अधिकारीको स्मृतिमा प्रधानमन्त्री ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ सहित विशिष्ट व्यत्तिहरुको सम्बोधन हुने भएको छ । ” पोखरा महानगरपालिकाको पहलमा हालै पोखराको सराङकोट जामुनेवोट (शहिद तथा राष्ट्रिय विभुति पार्क) मा रबिन्द्र अधिकारीको शालिक समेत अनावरण हुने भएको छ ।

यही फागुन १० गते कलाकारद्धारा क्यानभासमा रबिन्द्र अधिकारी कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका महासचिव आचार्यले बताए । उक्त पेन्टिङहरु पोखरा सभागृहमा यही फागुन १५ गते प्रर्दशन गरिने भएको छ । उक्त पेन्टिङ बिक्रि समेत हुने भएको छ भने बिक्रि भएको पेन्टिङको रकम प्रतिष्ठानमा जाने भएको महासचिव आचार्यले बताए । उनले भने “गैर नाफा मुलक तथा अभिछिन्न उत्तराधिकारी रहने गरी उक्त प्रतिष्ठान स्थापना गरेका हौं, यसमा उनका परिवारजन, साथीभाई इष्टमित्र तथा नेकपाका केही व्यक्तिहरु रहेकाछन, हामीले यो प्रतिष्ठानलाई सवैको बनाउन खोजेका छौं । ”

रबिन्द्र अधिकारीको निधनले नेपाल कम्युनिष्ट आन्दोलनलाई अपुरणिय क्षति पुगेको प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापाले बताए ।
प्रतिष्ठानले एक वर्षमा विभिन्न कार्यक्रम गरेको छ भने केही कार्यक्रम गर्ने भएको प्रतिष्ठानले जनाएको छ । देशभरका स्नातक र स्नात्तकोतर तहका विद्यार्थीहरु सहभागी हुन पाउने गरी नेपाली राजनिति, युवा र रबिन्द्र अधिकारी शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना भएको छ भने पुरस्कार वितरण भने फागुन १५ गते नै हुने भएको महासचिव आचार्यले जनाए । यही फागुन १६ गते समाज रुपान्तरणमा रबिन्द्र अधिकारी विषयक एक कार्यशाला गोष्ठी हुने भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले एक करोड रुपैया बराबरको अक्षयकोष समेत स्थापना गर्ने भएको महासचिव आचार्यले दाबी गरे । प्रतिष्ठानको तीन तहको सदस्यबाट तथा अन्य दाताबाट संकलन गरी उक्त अक्षयकोष स्थापना गरिने भएको उनले जनाए । जापानबाट ४ लाख भन्दा बढी रकम प्रतिष्ठानको अक्षयकोषको लागि संकलन भएको बताएका महासचिव आचार्यले अधिकारीको भेटि वापत संकलन भएको रकम समेत अक्षयकोषमा राखिने भएको जनाए । रबिन्द्र अधिकारी धर्मपत्नी, प्रतिष्ठानका अध्यक्ष एवं संघिय सांसद विद्या भट्टराईले समाजको हितको लागि प्रतिष्ठानले सामाजिक कार्य गर्ने भएको बताइन् ।

सम्बन्धित न्यूज

Back to top button