सन्तान प्राप्ति हुने आशाले लमजुङको इशानेश्वरमा भक्तजनको भीड

राजाराम पौडेल । महाशिवरात्री पर्वको अवसरमा शुक्रबार लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ मा रहेको इशानेश्वर महादेव मन्दिरमा दर्शन गर्ने पुग्नेको भीड थियो । इशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास रहिआएकाले यहाँ पुग्ने भत्तजनको संख्या बढ्दै गएको छ । शुक्रबार बिहान चार बजेदेखि नै शिवको पूजा आराधना गर्ने, भजनकिर्तन तथा दर्शन गर्नेको घुईचो लागेको थियो । दर्शन गर्नेको भिड शनिबार बिहानसम्म कायमै रह्यो ।

महाशिवरात्रिको अवसर पारी लामो समयअघि देखि सन्तान नभएका दम्पतीले मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडो बत्ती बालेका थिए । यसरी ठाडो बत्ती बालेको खण्डमा सन्तान प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । ठाडो बत्ति बाल्न अधिकांशका श्रीमान् श्रीमतीनै उपस्थित थिए । उनीहरुले रातभरी जाग्राम भएर ठाडो बत्ती बाले । शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्ने तथा बसेर बत्ति बाल्नेहरु यहाँ पुग्ने गरेका छन् ।

यसपाली ठाडो बत्ति बाल्न पुग्नेहरुको भीडले मन्दिर क्षेत्र विकास समितिलाई व्यवस्थापन गर्न ग्राहो पर्यो । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव समेत भन्ने गरिन्छ ।  महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ पछि धेरै दर्शनार्थी यहाँ पुग्ने गरेको इशानेश्वर महादेव क्षेत्र विकास समितिको दाबी छ । करीब ५० फिट अग्लो र २० फिट चौडा भएको मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग रहेको छ भने वरिपरि शिवपञ्चायनको मूर्तिहरु छन् । मन्दिरको पूर्व दिशामा पार्वताको मन्दिर र गोमतीको किनारमा गणेशको मन्दिर छ । मन्दिरमा महाशिवरात्रीको अलावा वैशाख, साउन र कात्तिक महीनामा भक्तजन दर्शनका लागि पुग्छन् । यहाँ हरेक हप्ताको सोमबार शिवजीको विशेष पूजाअर्चना गरिन्छ ।

हाल ८ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरलाई थप जग्गा खरिद गरी २० रोपनी पुर्याउने तयारी गरिएको छ । मन्दिरमा १०८ शिवलिङ्ग स्थापना गर्ने योजना रहेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताए ।  यहाँ बत्ति बालिसकेपछि सन्तान प्राप्ती भएकाहरुले सन्तान देखाउन लान्छन् । यसरी लानेको डाटा व्यवीस्थत गर्न रेर्कड राख्न सुरुवात गरिएको छ ।

विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरेको र त्यसबेलादेखि नै भक्तजनले पूजा गर्दै आएको समितिका अध्यक्ष शास्त्रीले बताए । प्राचीन कालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भएको र सोही ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंबदन्ती रहेको छ । किंबदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा आई रातभर ठाडो बत्ति बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए ।

पोखराबाट वेगनासताल, रुपा गाउँपालिका हुदै यहाँ पुग्न सकिन्छ । दूई सय रुपैयाँ भाडा तिरेर पोखराबाट दुई घण्टाको यात्रामा यहाँ पुगिन्छ । कास्की र लमजुङ जिल्लाको सिमाना नजिकै यो मन्दिर रहेको छ । महाशिवरात्रीको अवसरमा यहाँ धार्मिक तथा साँस्कृतिक महोत्सव गरियो । जहाँ ऐतिहासिक बालन नृत्य, झाँकी प्रदर्शनका, ठाडोभाका, भजनकिर्तन कार्यक्रम आर्कषणको रुपमा रहे । महाशिवरात्रीको दिनमा ब्रतबन्ध गर्नेहरुको भिड समेत यहाँ उतिकै थियो ।

सम्बन्धित न्यूज

Back to top button