पर्यटकीय गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

पोखरा न्यूज । तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ ।

समुन्द्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय, सूर्यास्त र महाभारत पहाडहरु सजिलै अवलोकन गर्न सकिन्छ ।  सो गाउँपालिकामा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको मिश्रित बसोबास रहेको छ ।

छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विश्वास गरिएको आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले जानकारी दिए । सो सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गर्नेुपर्ने सम्झौता गरिएको छ । सडकमा धमाधम ट्र्याक खोल्ने काम भइरहेको उनले जानकारी दिए । पर्वतीय शृङ्खलाको सबैभन्दा उचाइमा रहेको सो मन्दिरसम्म पुग्न प्रदेश सरकारको रु ३० करोडको लागतमा नयाँ ट्र्याक खोल्न शुरु गरिएको हो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनर्निर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले यसलाई ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा जडीबुटीलाई पर्यटनसँग जोड्दै मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको उनले बताए । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब डेढ घण्टाको उकालो पैदलयात्रापछि छिम्केश्वरी पुग्न सकिन्छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई र बूढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा बहुमूल्य जडीबुटीका कारण महत्वपूर्ण क्षेत्र हो ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । भनिन्छ सातमध्ये ६ वटै देवीको दर्शन गरे तापनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकाङ्क्षा पूरा नहुने जनविश्वास रहिआएको छ ।

यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक सम्पदालाई पर्यटनसँग जोड्दै संरक्षण एवं विकास गरी छिम्केश्वरी क्षेत्रलाई एक आकर्षक, सुन्दर एवं सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको थापाले बताए ।

महोत्सवको तयारी

पर्यटकीय गतिविधिका माध्यमद्वारा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ गर्ने तयारी गरिएको छ । ‘छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका–५ र ६ को सक्रियता तथा गाउँपालिकाको आयोजनामा उक्त महोत्सव गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष थापाले बताए ।  -रासस

सम्बन्धित न्यूज

Back to top button