प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी-२’को छायांकन शुरु

राजाराम पौडेल । नारायण रायमाझीको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र परदेशी–२ को छायांकन शुरु भएको छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक रायमाझीको तेस्रो चलचित्र रुपमा रहेको ‘परदेशी–२’ को ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी शुभ साइत गरेलगत्तै चलचित्र छायाकंन शुरु भएको हो । यो चलचित्र मुभिज डटकमको ब्यानरमा निर्माण गरिन लागिएको हो । यो ब्यानरबाट निर्माण हुने यो चौथो चलचित्र हो । ‘कोही मेरो’, ‘गोर्खा पल्टन’ र ‘परदेशी’ यस व्यानरले यसअघि निर्माण गरेको थियो ।

परदेश जानुपर्ने बाध्यता र यसले निम्त्याउने परिस्थितिलाई ‘परदेशी-२’ मार्फत देखाउन खोजिएको छ । यो चलचित्रबाट चर्चित लोक दोहोरी गायक प्रकाश सपुतले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । चलचित्रमा अभिनय गर्ने अवसरसँगै आफ्नो अधुरो सपना पुरा भएको सपुतले बताएका छन् । ‘अब म संग नया सपना छैन, किनकि चलचित्रमा अभिनय गर्ने, हिरो बन्ने मेरो अधुरो एउटा सपना पनि पुरा भएको छ’ उनले भने ।

सपुत सपना पुरा भएकोमा जति खुशी छन् उतीनै उत्साहित पनि छन् । काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्ने सपुतको वाचा छ । करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश र विदेशका कुनै पनि सांगीतिक कार्यक्रममा सहभागि हुन नसक्ने जनाएका छन् । ‘बैशाख पछाडि म पुनः संगित कर्ममा फर्किने छु’ उनले भने ।

सपुतका अलावा प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह आदी कलाकारको अभिनय चलचित्रमा रहनेछ । चलचित्रको कथा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका रमेश बिजीले लेखेका हुन् ।
बिजी र रायमाझीको पटकथा र संवाद रहने चलचित्रको पोखरा, पाल्पा, काठमाडौँ, भारतको गोरखपुर र अमेरिकामा छायांकन हुने निर्माणपक्षले जनाएको हो । चलचित्रमा समावेश गीतमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको संगीत रहने छ ।

प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दास, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाको स्वर रहनेछ । गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशनको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित न्यूज

Back to top button