कार दुर्घटना हुँदा नेकपा नेता मैनालीसहित ५ जना घाइते

पोखरा न्यूज । नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न कार दुर्घटनामा परी घाइते भएका थिए ।

गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गरेका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका छन  ।

नेता मैनाली चढेको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उनकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

नेता मैनाली बिहान बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान ५ः१५बजे काठमाडौँका लागि हिँडेका थिए । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उनी केही दिनअघि झापा गएका थिए । -रासस

सम्बन्धित न्यूज

Back to top button