अली मियाँ लोकवाङमय पुरस्कारबाट अम्बिका भण्डारी पुरस्कृत

राजाराम पौडेल। यस वर्षको अली मियाँ लोक वाङमय प्रतिभा पुरस्कार साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई प्रदान गरिएको छ । लोककवि अलिमियाँको १ सय २ औँ जन्मजयन्तीको अवसरमा भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो ।

पोखराको मियाँपाटनमा आयोजित कार्यक्रममा उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका सासंद मनबहादुर गुरुङले नगद २० हजार, सम्मानपत्र र दोसल्ला सहित उनलाई पुरस्कृत गरेका हुन् । लोकवि अली मियाँको जन्मदिन फागुन १५ गते को अवसरमा आयोजित विशेष कार्यक्रमकाबिच यो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि पुरस्कृत साहित्यकार अम्बिका भण्डारीले आफ्नो भोगाई, सिकाई र संघर्ष खुल्ला विश्वविद्यालय भएको बताइन् । ‘मनका कथा व्यथालाईनै मैले लेख्न शुरु गरेकि हुँ, मैले आमालाई गुमाएको पीडालाई सिर्जना र आफ्नो भावना मार्फत बाहिर ल्याउन थाले, यो क्षण आउला भन्ने थिएन ।’ उनले भनिन् ।

प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि लोकसाहित्य र लोकगीतमा भण्डारीको करिब १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गरिएको ढकालले जनाए ।

कार्यक्रममा डा.बाबुराम अधिकारी, दुर्गा बहादुर शाह बाबा, अम्बिका भट्टराई, कृष्णप्रसाद वास्तोला, तारा वराल, रवीन्द्र माकाजु, फडिन्द्र अकिञ्चन, आरजु विष्ट सल्यानी आदीले पुरस्कृति व्यक्तित्व भण्डारी र लोककवि अलिमियाँको बारेमा चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष हनफि मियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ लोक गायक पद्यमराज ढकालले गरे ।

औपचारिक रुपमा २०६७ मा लोक ‘छन्दका फुलहरु’ नामक कविता संग्रह निकालेकी अम्बिकाले २०६८ मा दोस्रो कृतिको रुपमा ‘आफ्नो गाउँ आफ्नै हुन्छ’ खण्डकाव्य पाठक समक्ष पस्किएकी थिइन । राष्टप्रेम तथा विभिन्न विकृती विसंगतीमा आधारित रहेर ‘तेस्रो पाइला’ नामक कविता संग्रह निकालिन् । उनको एउटा मुक्तक संग्रह प्रकाशित भएको छ । हालसम्म एक सय भन्दा बढी मुत्तक, २ सय भन्दा बढी कविता, ५० भन्दा बढी गजल, २५ कथा तथा अन्य साहित्यीक खुराकको सिर्जना उनले गरीसकेकी छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिका सप्तरंगी साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष र नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष हुन् । उनले केहि वर्ष देखि निरन्तर तीजमा मौलिक खालका नयाँ तीजगीत बजारमा ल्याउने गरेकी छन् । उनले ३ कक्षामा पढ्दा देखिनै मुक्तक लेख्न शुरु गरेकी हुन् ।

सम्बन्धित न्यूज

Back to top button