पोखरा २३ र २४ जोड्ने पुलको सम्झौता अवधि सकिनै लाग्दा ३० प्रतिशत मात्र काम सकियो !

पोखरा । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले तोकिएको समयभन्दा ६ महिना अगावै काम सकेर उडान भर्ने बताउँदै आएको छ । तोकिएको समयभन्दा अघि नै काम सकाउँने भएपछि आयोजनाले चर्चा पनि निकै बटुलेको छ ।

तर, गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको हल्लनचोक, पामे, ठूलाखेत, घाँटीछिना सडक खण्ड अन्तर्गत पोखरा २३ र २४ जोड्ने गरी खहरे खोलामा निर्माणाधिन  ‘बक्स’ पुलको  भने म्याद सकिन ३ महिना मात्र  बाँकी रहँदा जम्मा ३० प्रतिशत मात्रै काम सकिएको छ ।

कुल ६ करोड ७५ हजार लागतमा बनिरहेको ९० मिटर लामो उक्त पुल निर्माणको लागि गएको वर्ष फागुनमा १५ महिनाभित्र सक्ने गरि  निलगिरी नेसनल जेभीले जिम्मा लिएको  थियो । ठेक्का सम्झौता मितिले आउँदो जेठमा उक्त  म्याद सकिँदै छ ।

सम्झौता सकिनै लाग्दा पनि करिब ३० प्रतिशत मात्रै काम पूरा भएको भन्दै स्थानीयले समयमै काम नसकिनेमा शंका व्यक्त गरेका छन् । पछिल्लो कार्य प्रगती हेर्दा पुलको तल्लो ढलानको काममात्रै सकिएको छ ।

वर्षायाममा खहरे उर्लेर आउजाउँ गर्न पनि समस्या पर्ने खहरेमा स्थानीयलाई आउजाउ गर्न त्यहाँ अस्थायी फलामे पुल बनाइएको छ । तर, वर्षातमा खोला बढेर पुलमाथि पनि पानी आउने एक स्थानीय बताउँछन् । खोलामा पुल नभएकै कारण विद्यार्थी स्कुल जान नपाउँने स्थिति रहेको स्थानीयको गुनासो छ । ‘यो वर्ष काम पूरा होला जस्तो लाग्दैन,’ पोखरा २३ का चुँडामणि अधिकारीले भने, ‘कहिले सकिने खै ?’। पुल शिलान्यास भएपछि वर्षायाममा सजिलो हुने आशले खुशियाली मनाएका स्थानीय बासिन्दाहरु निर्माणको गति देखेर चिन्तित भएको उनले बताए ।

यस विषयमा गण्डकी प्रदेशका डिभिजनल इन्जिनियर सोभियत खड्कालाई बुझ्न खोज्दा ठेकेदार निदाएकाले ढिलाई भएको बताए । ‘हामीले समयमै काम सक्न लिखित/मौखिक, विभिन्न माध्यमबाट बुझ्न खोज्यौ,’ उनले भने, ‘ठेकेदार निदाएको कारणले ढिलो भएको हो । अहिले हामीले उहाँलाई स्पष्ट रुपमा भनेका छौं जेठसम्म आफ्नो काम सक्नु ।’

पछिल्लो समय कार्य सम्पादनमा केही गति बढेको उनले बताए । ठेकेदार कम्पनीलाई चेतावनी दिइसकेपछि कार्यसम्पादनमा गति बढेको हुनाले जेठसम्म पुल निर्माण भइसक्ने जस्तो देखिएको उनले बताए ।‘टेक्निकल्ली धेरै गाह्रो पुल पनि होइन यो,’ उनले भने, ‘तोकिएको समयभित्र काम सक्नुभएन भने कारबाही हुन्छ भनेको छुँ मैले ।’

यता निर्माण कम्पनी निलगिरी नेसनले जेभीका वसन्त लामा भने मुद्दामामिला र वर्षायामको कारणले काम ढिला भएको बताउँछन् । ‘बिचमा केही साथीहरु अख्तियारतिर पनि जानुभयो,’ उनले भने, ‘गुणस्तरिय सामान हालेन भनेर उहाँहरु अख्तियारमा जानुभयो । अख्तियारमा २ महिना जति अलमलियौं ।’

निर्माण कार्य सुचारु गर्दा आफूहरुले अनेक समस्याहरु झेल्नु परेको उनले सुनाए । ‘एउटाले गण्डकीको बालुवा ल्याएर हाल भन्छ, अर्को थरिले त्यहीको हाल्नुपर्छ भन्छ,’ उनले भने, ‘अर्कोथरि भन्छ, यो दुईवटै नहाल् । कसरी काम गर्ने ?’

निर्माण सक्ने वातावरण नै नभएको भन्दै उनले गुनासो पोखे । ‘यो ठाउँमा मात्रै होइन, अन्त पनि छ हाम्रो काम त,’ उनले भने, ‘ल, ठिकै छ तपाइहरुले भनेकै बालुवा हाल्छु । तपाइहरु जिम्मा लिनुस् न त भन्दा कोही पनि बोल्दैन ।’

काम सम्पन्न भएपछि पनि  १३ महिनासम्म निर्माणको जिम्मेवारी आफूहरुले लिनुपर्ने बताउँदै कमसल सामान राखेर आफूहरुले काम नगर्ने उनले दाबी गरे । ‘काम सकिएको १३ महिनासम्म हाम्रो १ करोड रुपैयाँ ग्यारेन्टीका लागि भनेर राखिन्छ,’ उनले भने, ‘केही बिग्रिहाल्यो भने हामीले नै मर्मत गर्नुपर्छ भने, नराम्रो काम त हामी गर्दै गर्दैनौं नि ।’

उक्त पुल बनिसकेपछि  पर्यटकी क्षेत्र पञ्चासे, ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी ,घाँटीछिना लगायतका  करीब १५ हजार नागरिकले वर्षायाममा सहज रुपले आवतजावत गर्न  पाउनेछन्।

सम्बन्धित न्यूज

Back to top button