राजनीतिका कारण देश नै लज्जित हुनुपर्ने अवस्थामाः रविन्द्र मिश्र

पोखरा न्यूज सम्वाददाता । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गर्नुभएको हो । अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ त्यो अत्यन्त निन्दनीय छ । त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरित छ । यो राष्ट्रहित विपरित छ ।’

संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताउनुभयो । तर अहिले जे भइराखेको छ त्यो संविधानको विपरित भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरुले संविधानको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताउनुभयो ।

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराइरहेको टिप्पणी समेत गर्नु भएको छ । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो । यी सबै अभावहरु र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतहरुले जस्ता किसिमका अधिकारहरुको उपभोग गर्न पाउनुपथ्र्यो तीनको अभावहरु फेरि आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि प्रयास भइराखेको अहिले पनि हेर्ने हो भने लोकतन्त्र धरमराए कै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उहाँले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पार्नुभयो । यी विषयहरु सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि बताउनुभयो । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको बताउनुभयो । वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुशी मनाउने मन्त्री र राजनीतिक दलहरुबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो ‘रोजगारीको विषय यति महत्वपूर्ण छ । देशका नागरिकहरु बेच्नमा हामी गर्व गर्छौं । श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरु हामी सबैले देख्न पाउँछौं । त्यो त लज्जाको विषय हो नि । देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुशी मनाउने त्यो होइन ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button