देउपुरमा नयाँ पार्वती गुफा फेला

पोखरा-

देउपुर गाविस–५ गौँडामा पोखरा–बागलुङ राजमार्ग नजिकै अनौठो गुफा फेला परेको छ । देउपुर गाविस–५ टापु गाउँको घट्टेखोला किनारमा स्थानीयवासीले गत शनिबार गुफा फेला पारेका हुन् । सानो गुफा छ भन्ने थाहा भए पनि त्यसको भित्री तहसम्म नपुगेका स्थानीयवासीले शनिबार त्यहाँभित्रसम्म पुगेर हेरेका छुन् ।

गुफाभित्र अनौठा र आकर्षक आकृति भेटिएको स्थानीयवासी एवम् शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । “पहिले पहिले गाउँमा गुफा भएको भनिए तापनि भित्री भागसम्म पुगेर त्यसको अवलोकन हुन सकेको थिएन”, उहाँले भन्नुभयो – “गुफाभित्र मनै लोभ्याउने आकर्षक आकृतिहरु देखिएका छन् । भित्र चुन ढुङ्गाका आकर्षक आकृतिले आन्तरिक र बाह्य पर्यटकलाई नै लोभ्याउने शर्माको भनाइ छ । विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका जननेत्र माविका शिक्षक र विद्यार्थीले आफ्नै गाउँको पर्यटकीय सम्भावनाको खोजी गर्ने क्रममा उक्त गुफा फेला पारेका थिए ।

स्थानीयवासीका अनुसार पार्वती गुफामा दुई मुख छन् । तल्लो भाग केही साँघुरो छ । त्यसलाई चौडा बनाउने हो भने भित्र पस्नका लागि सहज हुन्छ । बीचमा गुफाभित्र विभिन्न आकृतिका बुट्टेदार चट्टान छन् । स्थानीयवासी १५ मि भित्रसम्म पुगेको शिक्षक शर्माले जानकारी दिनुभयो । माथिल्लो भाग भने निकै फराकिलो र चारैतिर फैलिएको छ । उक्त स्थानमा सयाँै मानिस सजिलै अटाउन सक्ने क्षमता देखिएको छ । पोखरा–बागलुङ राजमार्ग नजिकै भएकाले गुफाको प्रचारप्रसार गर्न सके महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने अर्का शिक्षक सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आफूले अन्य धेरै गुफाको अवलोकन गरे तापनि उक्त गुफाको आकृति र प्रकृति अनौठो र मनमोहक रहेको उहाँले बताउनुभयो ।

देउपुर–५ आदर्श प्राविका शिक्षक नारायणप्रसाद पौडेलले सात वर्ष पहिले आफूले विद्यार्थी लिएर सो गुफामा पुगेको तर अँध्यारो भएकाले १० मिभन्दा भित्र पस्न नसकेको जानकारी दिनुभयो । उक्त गुफा अझै लामो हुन सक्ने उहाँको भनाइ छ । पर्वतमै रहेका प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर र अलपेश्वर गुफामा रहेका दृष्य र आकृति उक्त गुफामा भेटिएको स्थानीयवासीले जानकारी दिएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button