दोस्रो पोखरा स्पोटर्स अवार्ड साउन २७ मा

पोखरा न्युज –

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले आगामी साउन २७ गते दोस्रो पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि  मञ्चले अवार्ड आयोजना गर्दै आएको छ ।

मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा योगदान दिनेलाई हौषला प्रदान गर्न अवार्ड गर्न लागेको बताए ।

मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने जनाएको छ ।

राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल समेत गरेको छ । अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले यसअघि नै सहयोग रकम घोषणा गरिसकेका छन् ।

गत वर्ष जेठ १ गते सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

ढकालको उपचारार्थ सहयोग

यसैबीच, मञ्चको बैठकले पोखरामा रहेर सक्रिय पत्रकारिता गरिरहेका प्रकाश ढकाल अस्वस्थ भएकाले उनको उपचार सहयोगार्थ सात हजार रुपैंया सहयोग गर्ने निर्णय पनि गरेको छ । श्रमजीवि क्रियाशील पत्रकार ढकालको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button