गणेश बराल
दिल्ली –
मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले आफ्नो १० औं बार्षिकोत्सब भारतको नयाँ दिल्लीमा मनाएको छ । पोखराबाट भारतको राजधानी नयाँ दिल्ली सम्म सिधा बस सेवा सञ्चालन भएको ९ बर्ष पूरा गरि १० बर्ष पूरा गरेको अवसरमा ट्राभल्सको दिल्ली स्थित साखामा सनिवार बार्षिकोत्सब मनाइएको हो ।
दिल्ली स्थित नेपाली दुतावासका प्रतिनिधि, कम्पनीका प्रतिनिधि तथा ब्यवसायीको उपस्थिति रहेको कार्यक्रममा दिल्ली स्थित नेपाली दुतावासका प्रहरी बरिष्ठ उपरिक्षक यादवराज खनालले मोर्डन ईराको सिधा बस सेवाले दुई देश बीच सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भुमिका खेलेको बताउदै भारतका अन्य सहरमा पनि सेवा बिस्तार भएमा नेपाली लगाएत सम्पुर्ण पर्यटनकै लागी महत्त्वपूर्ण हुने बताए । दुतावासमा आएका कतिपय नेपालीलाई निशुल्क सुविधाको लागि समेत मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले सहयोग गरिरहेको खनालले बताए ।
प्रालिका सञ्चालक ऐन कुमार साईले निकट भविश्यमै अन्य स्थानबाट समेत सिधा बस सेवा सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो । उहाका अनुसार भारतको चण्डीगढ, चेन्नाई र सिलगुढीबाट सिधा बस सेवा सञ्चालनको लागि प्रयास भैरहेको छ । साईले नाफामुखी भन्दा पनि दुई देशको सम्बन्धलाई ध्यान दिदै सेवामुखी भएर अघि बढेको बताउनुभयो । नेपालका विभिन्न स्थानलाई भारतका विभिन्न स्थानसम्म जोड्न सिधा बस सेवा प्रभावकारी भएको उहाको ठहर छ ।
९ बर्षअघि तीन वटा बसबाट सिधा सेवा सुरु गरेको मोर्डन ईराले अहिले पोखराबाट दैनिक दुई बस र बाग्लुङबाट हप्तामा तीन दिन बस सेवा सञ्चालन गरिरहेको छ ।
प्रालिले भारतको उत्तर प्रदेश परिवहन निगम डिपो गाजियाबादसँगको सहकार्यमा असार २७ गते देखि नेपाल भारत मैत्री पोखरा — दिल्ली — पोखरा बस सेवा सञ्चालन गर्दै आएको छ । सरकारी स्तरबाट बस सेवा सञ्चालन हुनुपूर्वनै प्रालिले विगत नीजि स्तरमा पोखरा — दिल्ली — पोखरा बस सेवा सञ्चालन गर्दै आएको थियो । अहिले पोखरा — दिल्ली — पोखरा नियमित दुई वटा बस सञ्चालन हुदै आएको छ भने असोज ७ देखि बाग्लुङ — दिल्ली — बाग्लुङ बस सेवा पनि सञ्चालन भैरहेको छ । प्रालिले अहिले २२ वटा बस सञ्चालन गर्दै आएको छ ।