पोखरा विश्वविद्यालयको गुणस्तरीयतामा जोड

 

पोखरा न्युज –

पोखरा विश्वविद्यालय एक्काइसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा विश्वविद्यालयलाई समयसापेक्ष गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्टार गोविन्दप्रसाद शर्माले देश सहमति र सहकार्यको राजनीतिमा चलेको बताउँदै विश्वविद्यालय पनि त्यसबाट अछुतो रहन नसक्ने बताउनुभयो । सामान्य मतभेद, स्वार्थ छाडेर बृहत् हितका लागि सोच्न सकिएमा विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगको विकास तथा विस्तारमा यस क्षेत्रलाई नै समृद्ध र वैभवशाली बनाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

विश्वविद्यालयका कार्यक्रम देशव्यापी सञ्चालन भइरहेको र यो एक प्रदेशमा मात्र सीमित नहुने बताउँदै उहाँले विश्वविद्यालयको समग्र विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । स्थानको अभावमा कार्यक्रमको स्तरोन्नति गर्न नसकिएकाले स्थानीय निकायले जग्गा प्राप्ति र मेडिकल कलेजको स्थापनाका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयलाई शिक्षाको गुणस्तरमा बलियो बनाउने र नयाँनयाँ बजारोन्मुख कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अक्ष्यक्ष एवम् पोखरा विश्वविद्यालयका सभासद् लक्ष्मी त्रिपाठीले विश्वविद्यालयले उपलब्ध जग्गाको संरक्षण गर्न नसकेकाले सुकुम्बासीको नाममा हुकुमवासीले जग्गा अतिक्रमण गर्दै लगेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगपालिका–३० का वडाध्यक्ष श्रीराम पोखरेल, पोखरा विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष उपप्राध्यापक निराजन बम, एनआइसी एसिया बैंक गण्डकी धवलागिरिका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शमार्, विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक ज्ञानेश्वर शर्मालगायतले आ–आफ्ना धराणा राख्नुभएको थियो ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार वार्षिकोत्सवकै अवसरमा एनआइसी एसिया बैंकका तर्फबाट विश्वविद्यालय परिसरमा ६०० बिरुवा रोपिएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button