बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

पोखरा न्युज –

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु गरिएको छ ।

नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखि शुरु भएको बर्खेनाच अन्तर्गत भदौ ८ गतेसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

सो बर्खेनाच अन्तर्गत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रासहित विविध नाच देखाइने ल्यामपुचका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बर्खेनाच अन्तर्गत जनैपूणिमाको दिन र भोलिपल्ट वर्षभरीमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलनसमेत रहेको छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ ।

ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडि बर्खेनाचको लागि युवा कलाकारलाई तालीमसमेत दिइएको थियो ।

शुक्रबार घण्टाकर्ण पर्वको असवरमा बेनीस्थित संगम चोकमा समाजमा दुःख दिनेपात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा पश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर विसर्जन गरिएको थियो ।

यसै घण्टाकर्ण पर्वको दिनदेखि सुरु हुने बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृित फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button