नेपालकै अग्लो पुलमा आन्तरिक पर्यटकको घुइँचो

पोखरा न्युज –

सात साथीको समूह बनाएर अग्ला पुल घुम्न राजधानीबाट आएका विकास महर्जनले गत शनिबार यतै बिताए ।

कास्कीका सनम रेग्मी पनि स्थानीय क्याम्पसका केही साथीका साथमा कुश्माका अग्ला पुल र बागलुङसम्मको दुईदिने घुमघाममा शनिबार यहाँ आएका थिए । उनीहरू पर्वतका अग्ला पुल घुम्न आएका हुन् । अधिकांश विद्यालय र क्याम्पसमा भएको बर्खे बिदाको उपयोग गरेर यहाँ घुम्न आउनेको दैनिकजसो भीड देख्न सकिन्छ । असारसँगै आवको पनि समाप्ति भएपछि फुर्सदिला कर्मचारी, सामाजिक संघसंस्था, वित्तीय संस्थालगायतका कर्मचारी र सञ्चालकका लागि पनि पर्वतका अग्ला पुल पहिलो गन्तव्य बनेका छन् ।

“धेरै साथीबाट अग्ला पुलबारे सुने पनि हेर्न आउन भ्याएको थिइन”, राजधानीका महर्जनले भन्नुभयो, “रमाइलो लागेको छ ।” मनसुनी वर्षा पनि रोकिएकाले विभिन्न जिल्लाका युवा क्लब, आमा समूह, सहकारी, सामाजिक संस्थालगायतमा आबद्ध व्यक्ति बस नै लिएर यहाँ घुम्न आउन थालेका छन् ।

एशियाकै अग्ला दाबी गरिएका कुश्मा–ज्ञाँदी, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा झोलुंगे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा लर मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । होटल व्यवसायी विषकुमार श्रेष्ठका अनुसार मध्यअसारमा समेत यस वर्ष पर्यटक आगमन घटेन । “हिजोआज नेपालीले पनि राम्रै खर्च गर्छन्”, श्रेष्ठले भन्नुभयो, “विदेशीलाई मात्रै पर्यटक मान्ने सोच अब परिवर्तन गर्नुपर्छ ।” उहाँको होटलमा दैनिक २० देखि ५० जनासम्म आन्तरिक पर्यटक बास बस्ने गरेका छन् ।

पर्यटन व्यवसायी नेत्र पराजुलीले कुश्मामा पर्यटनको सम्भावना बढेको बताउनुभयो । “अग्ला पुलको मात्रै प्रचारले पनि आन्तरिक पर्यटकको संख्या बढेको छ”, पराजुलीले भन्नुभयो । कुश्मा आसपासका पर्यटकीय क्षेत्रको प्रचार हुन सके आन्तरिक पर्यटकको संख्या अहिलेको भन्दा दोब्बर हुने उहाँको जिकिर छ । मुक्तिनाथ जाने र पोखरा आउने पर्यटक सीधै फर्किने गरेकामा अग्ला पुलको प्रचारकै कारण यहाँ घुम्न आउने गरेको पर्यटन व्यवसायीले बताउनुभएको छ ।

स्थानीय तह पुनःसंरचनापछि कुश्मा र आसपासका बजारकेन्द्रित व्यवसाय खस्किने बहस चलिरहेका बेला व्यवसायीहरु हल्लामा केन्द्रित बहसको पछि लाग्न नहुने तर्क गर्छन् । राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट कालीगण्डकी करिडोर, मोदीमा निर्माणाधीन जलविद्युत् र कालीगण्डकीको महत्वबारे प्रचार गर्न सके अर्बौंको पर्यटन कार्यक्रम बिक्री गर्न सकिने व्यवसायीको अनुमान छ ।

कुश्मालाई दुई किनारबाट छुट्याएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा चट्टानारोहण, प्याराग्लाइडिङ, पौडी, जलयात्रा र बञ्जीजम्पका लागि आउने पर्यटकबाट मात्रै वर्षेनी करोडौँ डलर भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । यहाँ मुलुककै अग्लो बञ्जीजम्पको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।

रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button