सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पोखरा न्युज –

अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।

शनिबार अपराह्न २ बजेबाट जारी वर्षासँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

यस्तै पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा झरेको पहिरो पन्छाएपछि एकातर्फी सडक सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार दुईतर्फी सञ्चालन गर्न भने साँझसम्म सकिएको छैन ।

मध्याह्न १२ बजेदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भए पनि अघिल्लो दिनदेखि रोकिएका सवारीसाधन चार वटासम्म लाइन बनेर बसेकाले आवातजावत गराउन निकै कठिन भएको छ । उहाँका अनुसार पहिरोका कारण बाटो नरोकिएको भए पनि सवारी जामका कारण सो सडकमा समस्या उत्पन्न भएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button