बाढीपीडितको आश्रयस्थल बन्यो विद्यालय

पोखरा न्युज –

सुनसरीका विभिन्न ठाउँबाट विस्थापित मानिस सदरमुकाम इनरुवाको भगवती मावि, सरस्वती मावि र ज्ञानोदय आधारभूत विद्यालयलगायतका विद्यालयमा शरण लिएर बसेका छन् ।

सुनसरी खोलामा आएको बाढीले घर बगाउँदा र डुबानमा पार्दा विस्थापित भएका करिब एक हजार ५०० स्थानीयवासी विद्यालयमा शरण लिएर बसेका हुन् । आफूहरु तीन दिनदेखि भोकभोकै बस्न बाध्य भएका पीडितले बताएका छन् ।

भोक्राहा गाउँपालिकाको नर्सिंह र भोक्राहाका पीडित इनरुवा र बबिया क्षेत्रमा शरण लिएर बसेको बताइएको छ । पीडितहरु उद्धारपछि राहतको प्रतीक्षामा छन् भने केहीले गाईबस्तु र खसीबोकासमेत लिएर आफन्तकहाँ आश्रय लिन पुगेका छन् । उता बर्जु गाँउपालिकाको अमडुवाका सयौं घर डुवानमा पर्दा हजारौं स्थानीयवासी जोखिममा परेको स्थानीयवासी गौतम चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार तीन दिनदेखि अमडुवा क्षेत्रमा स्थानीयवासीले खाना खान पाएका छैनन् । यसैबीच भगवती मावि र ज्ञानोदय निमाविमा रहेका बाढीपीडितलाई कश्यप विद्यापीठले राहत वितरण गरेको छ ।

विद्यालयले चिउरा, भुजा, भुजियालगायतका खाद्य सामग्री वितरण गरेको विद्यापीठका सञ्चालक जीवानन्द झाले जानकारी दिनुभयो । उता दुहवी नगरपालिकाको वडा नं ३ वसन्तपुरका १०० मुसहर परिवार विस्थापित भएर स्थानीय म्याजिक चप्पलको गोदाममा शरण लिई बसेका छन् ।

दुहवी १, ३ र ४ का विस्थापितहरु सरस्वती मावि दुहवी र साहु धर्मशालामा शरण लिएर बसेका छन् ।

हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा समेत स्थानीयवासी विस्थापित भएका छन् । केही ठाउँमा गाउँपालिकाले राहतको काम शुरु गरेको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button