बेनी बसपार्क व्यवस्थित गर्न करिब पाँच करोडको गुरुयोजना तयार

पोखरा न्युज –

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी नगरपालिका–८स्थित बेनी बसपार्कलाई नमूना बसपार्क बनाउन गुरुयोजना तयार गरिएको छ ।

बेनी नगरपालिका वडा नं ८ र सहरी आवास तथा भवन निर्माण जिल्लास्थित डिभिजन कार्यालयले तयार पारेको बसपार्कको गुरुयोजना बेनीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

करिब रु पाँच करोडको लगानीमा निर्माण हुने उक्त बसपार्कमा पर्यटन सूचना केन्द्र, छरिएको टिकट काउन्टर, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा र पेट्रोलपम्प विस्थापन, साना र ठूला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवनलगायतका भौतिक पूर्वाधार रहने वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

बाइस रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई कालीगण्डकी नदीतर्फको भागमा ठूला, मझौला र माथिल्लो क्षेत्रमा साना प्रकृतिका सवारीसाधन पार्किङ गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

भवनको भुइँतलामा सबै यातायात व्यवसायीको एकै ठाउँमा टिकट काउण्टर, सपिङ सेन्टर र दोस्रो तलामा चिया पसल तथा कार्यालय सञ्चालन गर्न प्रस्ताव गरिएको छ । बीचमा सडक रहने बसपार्कमा गाडी चढ्ने र झर्ने ठाउँ, सार्वजनिक शौचालयसमेत निर्माण गरिने भएको छ ।

गुरुयोजना सार्वजनिक तथा राय संकलनको क्रममा आर्टिटेक्ट इञ्जिनियर राहुल प्रधानले बसपार्कका नक्साको बारेमा जानकारी गराउनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button