पोखरामा जारी सिम्पानी कप फुटबलमा क्वार्टरफाइनलका खेलहरु सम्पन्न

पोखरा न्युज । 

पाँचौ संस्करणको सिम्पानी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएका छन्। संगम फुटबल क्लब, हेमजाको बिष्णुपादुका क्लब, एलजी एशोसिएसन र लेकसाइड एफसीले क्वार्टरफाइनलका खेल जित्दै सेमीफाइनलका लागि स्थान पक्का गरेका छन्।

पहिलो क्वार्टरफाइनलमा बिमल बस्नेतको दुई गोल मद्दतले संगम फुटबल क्लबले मालेपाटन युनाइटेड एफसीमाथि २–१ गोलले हराउँदै सेमीफाइनलका लागि स्थान बनायो। मालेपाटन युनाइटेडको तर्फबाट गोबिन थापाले एक गोल गरे। उक्त खेलमा संगमका बिमल बस्नेत म्यान अफ दि म्याच बने।

दोस्रो क्वार्टरफाइनलमा हेमजाको बिष्णुपादुका क्लबले आयोजक एफसी सिम्पानी ए लाई टाइब्रेकरमा ३–१ ले हराउँदै। ५० मिनेटको निर्धारित समयमा दुबै टोलीबाट कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। आयोजक एफसी सिम्पानीका गोलकिपर निशान गुरुङ म्यान अफ दि म्याच घोषित भए।  शनिबार हुने पहिलो सेमीफाइनलमा बिष्णुपादुकाले संगम फुटबल क्लबसंग फाइनलका लागि भिड्नेछ।

त्यसैगरि, तेस्रो क्वार्टरफाइनलमा एलजी एशोसिएसनले टाइब्रेरमा ३–२ ले हराउँदै सेमीफाइनल प्रबेश गरयो। निर्धारित समयमा दुबै तर्फबाट एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित ५० मिनेटको खेलमा गार्डेन एफसीका अजय श्रेष्ठ र एलजी एशोसिएसनका बिरेन गुरुङले एक-एक गोल गरेका थिए। एलजी एशोसिएसनका गोलकिपर रामबहादुर कार्की म्यान अफ दि म्याच बने।  चौथो क्वार्टरफाइनल खेलमा लेकसाइड एफसीले फेदीं एफसीमाथि २–० को जित निकाल्दै एलजी एशोसिएसनसंगको सेमीफाइनल पक्का गरयो। लेकसाइडका तर्फबाट अबिनास तामाङले दुबै गोल गरे। उक्त खेलमा लेकसाइडका गोलकिपर अनुप राणा म्यान अफ दि म्याच बने।

हालसम्म सेभेन ए साइड फुटबलमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले दुई लाख तथा उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताका लागि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। अनुशासित एक टिमले फेयर प्लेको ट्रफी पाउनेछ।  पोखरा सिम्पानीको त्रि–शक्ति समाज सेवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो। हिमा–अस एजुकेशनल कन्सल्टेन्सीले प्रतियोगिताका लागि मूख्य प्रायोजन गरेको छ। प्रतियोगितामा २६ टिमको सहभागिता थियो।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button