पर्वतमा सय वर्षपछि सोरठी

पोखरा न्युज ।

मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेका बेला बाँसखर्कमा एक सय वर्षपछि सोरठी नाच्न थालिएको छ ।

अरु गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि नाच्न छाडिएको थियो ।

पुन मगरको कूलदेवता करवाकेलीको पूजा गर्ने समयमा अरु गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो । गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम दिलाएपछि यहाँ सोरठी शुरु भएको छ ।

सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकिएको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताउनुभयो ।

आफ्नो बाजेका पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अव यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उहाँको भनाइ छ । “एक वर्षअघिसम्म गाउँमा सोरठी चल्थ्यो भन्ने सुनियो तर हामीले देखेनौँ”, उहाँले भन्नुभयो “अब युवालाई म आफैँ सिकाएर निरन्तरता दिन्छु । ”

सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलका तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलीजाले बताउनुभयो ।

नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य लगातार एक घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाले बताउनुभयो । नृत्यको शुरुआतमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन् । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको ठानिन्छ ।

हरेक जातजातिका संस्कृति हराउन थालेका बेला यसरी नै संरक्षण अभियान थाल्नुपर्ने तिलिजाको भनाइ छ । गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको सोरठी नृत्य संरक्षण अभियानलाई अन्य बस्तीमा पनि विस्तार गर्नुपर्ने धारणा उहाँको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button