अन्तराष्ट्रिय फुटबलबाट पोखराका अनिलको सन्यास

५० औं क्याप जिते, पाकिस्तान विरुद्ध अन्तराष्ट्रिय डेब्यु गोल

धन बस्नेत, पोखरा न्युज ।

जर्सी नं १०, १० वर्ष, १० गोल र १० मिनेट । अनिल गुरुङको ट्रेडमार्क हो । तर अब उनी राष्ट्रिय टोलीको जर्सीमा कहिल्यै देखिने छैनन् ।

नेपाली फुटबलका राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय फुटबल प्रतियोगिताबाट सन्यास लिएका छन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठले कालो कोट(ब्लेजर) लगाई बिदाई गरे ।

फुटबलमा १० नम्बर जर्सीलाई विशेष महत्व दिईन्छ । फुटबलको ट्रेडमार्क मानिन्छ १० नम्बर जर्सी । त्यही १० नम्बर जर्सी लगाएर मैदानमा उत्रिने अनिल गुरुङले आफनो अन्तराष्ट्रिय फुटबल करियरलाई पनि १० वर्षमा अन्त्य गरे । सुजल श्रेष्ठको ठाँउमा ८० मिनेट ३९ सेकेण्ड वित्दा उनी मैदान छिरेका थिए । उनलाई कप्तानी सम्हलिरहेका विराज महर्जनले सम्मान स्वरुप कप्तानको जिम्मेवारी दिदैं आर्म ब्याण्ड लगाईदिए । फिलिपिन्ससँगको खेलमा मंगलबार केवल १० मिनेट मैदान विताए । जुन उनको लागि अविष्मरणीय रह्यो । खेल नेपालले गोलरहित खेल्यो ।

राष्ट्रिय टोलीबाट उनले ५० औं क्याप जिते । जुन क्यापलाई अविष्मरणीय बनाउन सहकर्मी खेलाडीहरुले महत्वपूर्ण योगदान दिए । अर्थात गोलरहित खेल्दै उनको सुखद विदाईको हकदार बनिदिए । पोखराको मालेपाटनमा जन्मिएका ३१ वर्षिय गुरुङले राष्ट्रिय टोलीबाट ५० औं क्याप जित्न निकै संघर्ष गरे । उनको विदाईमा गोलकिपर विकेश कुथुले काँधमा बोकेर मैदान डुलाए ।

 

डेब्यु

अनिलले दशवर्ष अघि सन २००७ मा राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । ओमानसितको खेलमा २००७ अक्टोबर २८ मा उनले राष्ट्रिय टोलीमा आफुलाई उभ्याए । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत ओमानसित खेलमा उनले डेब्यु गर्दै पहिलो अन्तराष्ट्रिय क्यापमा आफनो नाम लेखाएका थिए । अत्यन्तै मेहनत गर्ने खेलाडीको सूचीमा उनको नाम अग्रस्थानमा आउँछ । २०७२ मंसिरमा भारतमा भएको साफ च्याम्पियनसिपबाट नेपाली टोलीको कप्तानको जिम्मेवारी लिएका थिए ।

उनी नेपाली फुटबलको आईकनको रुपमा दरिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) कम्प्लेक्स सातदोबाटोमा एशियन कप छनोट प्रतियोगिता अन्तर्गत फिलिपिन्ससितको प्रतिस्पर्धामा उनले मैदानमा केवल १० मिनेट बिताए । उनको बिदार्य पनि निकै संयोग बन्यो । १० नम्बरको जर्सी लगाई १० वर्ष खेल्दै १० अन्तराष्ट्रिय गरेका उनले बिदाई खेलमा पनि १० मिनेट नै मैदानमा बिताए । अनिलले सन २००८ मा घरेलु मैदान पोखरामा पाकिस्तानसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा डेब्यु गोल गरेका थिए । दोस्रो गोल भने साफ च्याम्पियनसिप अन्तर्गत काठमाडौंमा भारतसितको प्रतिस्पर्धामा गरेका थिए ।

व्यवसायिक

नेपाली राष्ट्रिय टोलीका सफल स्ट्राईकरको रुपमा रहेका अनिल गुरुङले व्यवसायिक फुटबल शुरुवात गरेको भने दुई दशक वित्यो । राष्ट्रिय ए डिभिजन लिगमा आफनो व्यवसायिक छाप छोड्दै गुरुङले भारतको सिलोङ लाजोङ क्लबबाट आईलिग समेत खेले फर्किएका हुन् । अहिले उनी नेपालकै सर्वाधिक सफल क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीक्लबाट व्यवसाकिय फुटबल खेलिरहेका छन् । क्लबले उनलाई कप्तानको जिम्मेवारी सुम्पिदैं आएको छ ।

ब्रिगेड ब्वाईजबाट ए डिभिजन लिगको प्रारम्भ गर्दै फुटबलमा करियर खोज्न राजधानी छिरेका अनिलले रुस्लान थ्रिस्टार क्लब, एनआरटी क्लबहुदैं मनाङ मस्र्याङदीक्लबसम्मको व्यवसायिक यात्रा तय गरे । करियरको सबैभन्दा उचाईमा रहदाँ उनले आईलिगको अवसर पाए । जुन उनको लागि व्यवसायिक फुटबलमा टर्निङ प्वाइन्ट बन्यो ।

फुटबलको शुरुवात

अनिलले फुटबलको शुरुवात भने पोखराको मालेपाटनस्थित फुटबल मैदानमा थालेका हुन् । तर प्रतिभा निखार्ने काम भने सहारा क्लबको एकेडेमीबाट भयो । सहारा क्लबले पोखराको फुटबल विकासको लागि २०५८ सालमा फुटबल एकेडेमी सञ्चालन गरेको थियो । जुन एकेडेमीमा उनको फुटबल करियरलाई उचाईमा पुरयाईदियो ।

क्लबले त्यतिबेला अहिलेको जस्तो आवासिय एकेडेमी सञ्चालन गरेको थिएन् । फुटबल प्रशिक्षक राखेर घरबाटै आउने जानेलाई एकेडेमीमा संलग्न गराई प्रशिक्षण गराथ्यो । २०६० सालमा उनले सहारा क्लबबाट क्लबस्तरीय प्रतियोगितामा पाईला राखे । सहारा क्लबबाटै आहा गोल्डकप खेले । २०६१ सालमा ब्रिगेड ब्वाईज छिरेपछि उनको करियरले नयाँ मोड लियो । त्यसपछि थ्रिस्टारमा आफनो उज्जल भविष्य बनाउन आवद्ध भए । जुन आवद्धता भने सहारा क्लबले गरिदियो । अर्थात सहारा क्लबले थ्रिस्टारलाई क्लब टु क्लब हस्तान्तरण ग¥यो । अब उनी क्लबस्तरीय व्यवसायिक फुटबलमा मात्रै देखिने छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button