फेसबुक र भाइबरमा नक्कली चिठ्ठा आतंक, यसरी आउँछ चिठ्ठा परेको सन्देश

पोखरा न्युज  ।

एक साताअघि झापाकी एक महिलाको फेसबुकमा लन्डनबाट म्यासेज आयो, ‘तपाईंको प्रोफाइल हेरेर म धेरै प्रभावित भएँ । मायाको चिनोस्वरुप केही सामान र त्यसभित्र नगद पनि पठाउँदैछु । लिन्न नभन्नु होला ।’

लुइस स्टेफन नाम गरेको आईडीबाट त्यो म्यासेज आएको थियो ।

ती व्यक्तिले कुरियर पठाउने ठेगाना मागे । त्यसको एक दिनपछि फेरि म्यासेज आयो, ‘मैले कुरियर गरेको छु, त्यहाँ दुई दिनभित्रमा आइपुग्छ ।’

त्यसको भोलिपल्ट कुरियर गरेको सामान र रसिदको तस्बिरसमेत आयो । ‘त्यति देखेपछि नपत्याउने कुरै भएन,’ ती महिलाले भनिन्, ‘तर, तीन दिन बितिसक्दा पनि सामान नेपाल आइपुगेन ।’

अर्काे दिन बिहानै भारतीय नम्बरबाट फोन आयो । फोनमा बोल्ने पुरुषले हिन्दी भाषामा भने, ‘तपाईंको सामान नयाँदिल्लीमा आइपुगेको छ । यहाँबाट नेपाल पठाउँदा ५० हजार रुपैयाँ खर्च हुन्छ । त्यो रकम पठाइदिनु भएपछि तपाईंले सामान प्राप्त गर्नु हुन्छ ।’

दिल्लीबाट फोन आउनेबित्तिकै ती महिलालाई पहिल्यै शंका लागिसकेको थियो । नभन्दै पैसा माग भएपछि ती महिला हच्किइन् । दुई दिनसम्म कुनै प्रतिक्रिया जनाइनन् ।

‘मैले सामान पठादिएको थिएँ । तपाईंले अहिलेसम्म लिनु भएको रहेनछ,’ फेरि ती विदेशी नागरिकले म्यासेज गरे ।

जवाफमा ती महिलाले आफूसँग ५० हजार नभएको र त्यो रकम आईएमईमार्फत् पठाइदिएपछि मात्र आफूले सामान लिन सक्ने जानकारी गराइन् । त्यसपछि कुनै रिप्लाई आएन ।

काठमाडौंको बानेश्वरमा बस्दै आएका एक विद्यार्थीलाई भाइबरमा २५ लाख रुपैयाँ परेको सन्देश आयो । लेखिएको थियो, ‘हेल्लो ! कस्टमर केयर से बात कर रहाँ हुँ, आपके नम्बर पर लटरी लगा हे, २५ लाख के ।’

उनी आश्चर्यमा परे, भाइबरमा कुनै व्यक्तिको नम्बरबाट २५ लाख रुपैयाँको चिठ्ठा परेको म्यासेज आएपछि । तर, उनले सामाजिक सञ्जालमा यसरी विभिन्न व्यक्तिले ठगी गर्ने गरेको खबर पढेका थिए । त्यसैले उनले त्यो म्यासेजको कुनै जवाफ फर्काएनन् ।

यसरी आउँछ चिठ्ठा परेको सन्देश

पछिल्लो समय सामाजिक सञ्जालहरु मार्फत् चिठ्ठा परेको बताउँदै ठगी गर्ने क्रम बढेको छ । प्रायः विदेशी व्यक्ति र विभिन्न देशका नम्बरबाट आउने सन्देशमा पहिले चिठ्ठा परेको बताइन्छ ।

त्यसपछि उक्त रकम प्राप्त गर्न पहिले निश्चित रकम पठाउन लगाइन्छ । त्यो रकम पठाएपछि चिठ्ठा परेको सूचना दिने प्रयोगकर्ता आफैं सम्पर्कबाहिर जान्छन् ।

चिठ्ठा परेको बताउँदै ठगी गर्ने क्रम पहिले पश्चिमा देशमा व्यापक थियो । त्यो क्रम केही समययता नेपालमा पनि शुरु भएको जानकार बताउँछन् ।

‘आफूले खरिदै नगरी चिठ्ठा पर्यो भनेर सर्वसाधारणले पत्याउनु पनि गलत हो,’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी पुष्कर कार्की भन्छन्, ‘यसमा सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ ।’

सीआईबीले चिठ्ठा परेको नक्कली सन्देश सर्वसाधारणलाई आउन थालेपछि सचेतनाका लागि एक सन्देश नै जारी गरेको छ ।

सन्देशमा भनिएको छ, ‘विदेशी नम्बर र म्यासेन्जरबाट त्यस्तो प्रकृतिको सन्देश आए नजिकको प्रहरी कार्यालय वा अपराध अनुसन्धान महाशाखामा उजुरी दिनु हुन अनुरोध गरिन्छ ।’

प्रहरीले कहाँबाट त्यस किसिमको सन्देश आइरहेको छ भन्नेबारे अनुसन्धान थालेको छ ।

स्रोत – अनलाइनखबर –    https://www.onlinekhabar.com/2017/11/640097

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button