पोखरामा मंसीर ९ गते बृहद चुनावी सभा, ओली र प्रचण्डले सम्बोधन गर्ने

पोखरा न्युज ।

बाम गठबन्धनले यहि मंसीर ९ गते पोखरामा बृहद चुनावी सभा गर्ने भएको छ । प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, बाम गठबन्धनका नीतिगत एजेण्डा, बिकासका एजेण्डाका साथै विकासका एजेण्डासमेत औपचारिक रुपमा जनतासमक्ष सिधै पुरयाउन मंसीर ९ गते शनिबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी सभा गर्न लागेको बाम गठबन्धन निर्वाचन जिल्ला संयोजन समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरामा हुने चुनावी सभा बाम गठबन्धनको अन्तिम चुनावी सभा हो । यस चुनावी सभालाई शक्ति प्रदर्शनको रुपमा पनि हेरिएको छ ।

बृहद चुनावी सभालाई बाम गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले र माओवादी केन्द्रका अध्यक्ष द्वय ओली र प्रचण्ड सोहि दिन विहान हेलिकोप्टरमार्फत पोखरा आउनेछन् । छुट्टाछुट्टै हेलिकोप्टरमार्फत आउने दुबै अध्यक्षलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरेर सिधै चुनावी सभा भएको ठाउँ अमरसिंहचौर लगिने गुरुङले जानकारी दिए ।

चुनावी सभा पूर्वाह्न ठिक ११ बजे शुरु हुने नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर बैरागीले जानकारी दिए । चुनावी सभाअघी रयाली ननिकालिने बाम गठबन्धन कास्कीले स्पष्ट पारेको छ । ट्राफिक ब्यबस्थापनलाई ध्यानमा राखेर रयालि ननिकाल्ने निर्णय गरेको बैरागीले बताए ।

कास्की जिल्ला स्तरीय बृहद चुनावी सभामा अहिलेसम्मकै सबैभन्दा बढी जनता उतार्ने तयारी गरिएको बाम गठबन्धनले जनाएको छ । नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखान सिंह गुरुङले भने,‘सभामा यतिनै आउछन् भनेर अहिले भन्न सक्दैनौं, एकलाख नपुग्ला, तर हजारौं जनता सभामा आउँछन् ।’ चुनावी सभामा आउँदा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु एउटै बसमा सूर्य र हसिया हथौंडा अंकित झण्डा फहराउँदै आउने उनले बताए ।

सभामा कार्यकर्ता तथा शुभेच्छुक ओसार्न सयौं बस प्रयोग गरिने बाम गठबन्धन कास्कीले जनाएको छ । बसको पनि संख्या यकिन रुपमा भन्न नसकिने भन्दै गुरुङले सभामा आउन चाहने कार्यकर्ता तथा शुभेच्छुकको संख्या हेरेर बस प्रयोग गरिने बताए । छतमा यात्रु नराखी सिटमा मात्र राखेर यात्रु ल्याउने र लैजाने तयारी गरिएको उनको भनाई छ । गाउँगाउँबाट सुरक्षित रुपमा ल्याएर सुरक्षित रुपमा घरसम्म पुरयाउने ब्यबस्था गरिने र त्यसका लागि गाउँ, टोललगायतका निर्वाचन परिचालन समिति तथा युवा स्वयम्सेवक खटिने गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button