गुरु बरालको पक्षमा भोट माग्दै ‘रोबोट’

 

पोखरा न्युज ।

चुनावी प्रचार उम्मेदवारले त गर्ने नै भए । तर आफ्ना प्रचारको क्रममा कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’बाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले विल्कुलै फरक शैलीमा प्रचारलाई तिव्रता दिईरहेका छन् ।

फरक यस अर्थमा पनि छ कि, मानिसहरुसँगै रोबोट पनि गुरु बरालको प्रचारमा खटिएको छ । रोबोटले चुनावी प्रचार गरेको नेपालकै लागि विल्कुलै नौलो प्रयोग भएको दाबी गरिएको छ ।

सेन्सर जडित रोबोट मानिसहरु भएको ठाऊँमा जान्छ । त्यहाँ रोबोटसँग मानिसले ‘आइ कन्ट्याक्ट’ अर्थात आँखा जुधाउनुपर्छ । अनि रोबोटले ‘जय नेपाल’ भन्छ । अनि मानिसहरुसँग आसन्न निर्वाचनका लागि गुरु बराललाई रुखमा भोट हालेर जिताउन आग्रह गर्छ । रोबोटलाई गुरु बरालको प्रचार अभियानमा हिँडेको टोलीले लिएर हिँडिरहेको छ । रोबोटले काँग्रेसमा भोट हाल्न गरेको अपीललाई सर्वसाधारणहरुले निकै मज्जा मानेर हेर्छन् ।

‘प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणको रुपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ । रोबोटले मेरो लागि मत मागेको देखेर धेरैजनाले मज्जा मानेका छन् ।’ गुरु बरालले भने–‘शायद यो खाले प्रचारशैली यसअगाडि अपनाईएको थिएन ।’ उनले चुनावी प्रचारमा ‘रोबोट’को प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफुले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउँछु भन्ने एउटा साँकेतिक प्रस्तुती समेत भएको बताए ।

बराल यतिबेला प्रचारको क्रममा भरतपोखरीमा छन् । उनी केहि दिन अझै त्यतै रहने ‘सेड्युल’ छ । यद्यपी रोबोटले उनको निर्वाचन क्षेत्र पर्ने अन्य स्थानमा उनको प्रचार गरिरहेको छ । ‘रोबोट’बाट गरिएको प्रचार फरक शैलीको हुनुसँगै अत्यन्तै प्रभावकारी बन्दै पनि गईरहेको उनले बताए । प्रचारको क्रममा ‘रोबोट’लाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण वडामा पु¥याउने उनले बताए ।

भेटघाट तथा घरदैलोको क्रममा भरतपोखरीमा रहेका बरालले मंगलबार भने त्यस क्षेत्रमा पर्ने लामगादी, छप्ल्याङ, उपल्लोपुँडी, तल्लोपुँडी, भञ्ज्याङ, चिलाउने, मागागिरी, धारापानी लगाएतका ठाऊँहरुमा पुगेर आफ्नो पक्षमा भोट मागे । उनले लोकतन्त्र रक्षाको लागि आफू अनवरत जनतासँग सहकार्य गर्ने बताए ।

पुँडीटारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बरालले त्यस क्षेत्रलाई राजमार्गसँग जोड्नका लागि सेतीमाथि पुल हाल्ने बताए । त्यस्तै कोत्रेबाट पुँडीटार हुँदै छोरेपाटनसम्म बैकल्पिक राजमार्गको अवधारणा अनुसार आफुले काम गर्ने विश्वास दिलाए । उनले पानीको अभाव भएको पुँडीटारमा ‘सित सिंचाई’ आयोजनामार्फत काम गरि पानीको अभाव घटाउन आफूले पहल गर्ने पुँडीबासीलाई वचन दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button