ढुक्क भएर मतदानको तयारीमा लाग्न आयुक्त पौडेलको आग्रह

पोखरा  न्युज ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको तयारी र सुरक्षाबारे क्षेत्रीय सुरक्षा अधिकारीसहित अनुगमनका लागि यहाँ आउनुभएका उहाँले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गर्नुभएको हो ।

बेनीमा राजनीतिक दल र सरोकारवालासँग भएको अन्तरक्रियामा आयुक्त पौडेलले संविधान नमान्ने पक्षबाट भएका छिटपुट निर्वाचन विरोधी गतिविधिबाट त्रस्त नहुन आग्रह गर्नुभयो ।

“उम्मेदवार र मतदातालाई त्रस्त बनाउने गतिविधि गर्नेलाई पक्राउ गरिएको छ” आयुक्त पौडेलले भन्नुभयो “मतदाता र उम्मेदवारको सुरक्षामा राज्य प्रतिबद्ध भएकाले राजनीतिक दललाई उच्च मनोबलका साथ आचारसंहिता पालना गर्दै चुनाव प्रचार तथा मतदाता शिक्षामा केन्द्रित हुन अनुरोध गर्छु । ”

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विभिन्न राजनीतिक दलका प्रतिनिधि उम्मेदवार र मतदाताको सुरक्षा, चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पहल भइरहेको जानकारी दिनुभयो।

यसैबीच बुधबारदेखि म्याग्दीका दुर्गमका मतदानस्थलमा चुनावका लागि कर्मचारी खटिएका छन् । मतदान सामाग्रीसहित सुरक्षाकर्मीको साथमा कर्मचारी कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा ८४७ जना कर्मचारी र ४२२ जना स्वयंसेवक खटाइएको छ ।

प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र कायम गरिएको छ । तेह्रजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button