अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गमा पर्यटक बढे

म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो ।

सन् २०१६ मा ८ सय ९४ जनाले भ्रमण गरेको यो पदमार्गमा सन् २०१७ मा भ्रमणमा आउने पर्यटकको संख्या एक हजारजना पुगेको पदमार्गका संयोजक चित्र तिलिजा पुनले जानकारी दिए । सन् २०१५ मा ४ सय ७५ र २०१६ मा ८ सय ९४ जना पर्यटक भ्रमणका लागि आएका थिए ।

६ वर्षअघि स्थानीयवासीको सक्रियतामा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धनका साथै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पदमार्ग सञ्चालन गरिएको थियोे ।

स्वीजरल्याण्ड, स्पेन, फ्रान्स, कोस्टारीका, अमेरिका, डेनमार्क, नर्वे, ब्राजिल, जर्मन, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान, रसिया, हल्याण्ड, इङ्ल्याण्ड, भारत, इटली, इजरायल र स्कटल्याण्डका पर्यटक यो पदमार्ग भ्रमणमा आएका छन् ।

मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृंखलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृतिप्रेमी पर्यटकले यो पदमार्गलाई रुचाएका हुन् । म्याग्दीको घुमाउनेतालबाट पाँचदेखि सात दिनमा भ्रमण गर्न सकिने यस पदमार्गले पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नाँगी, मोहरेडाँडा, डाँडाखर्क, हिस्तानको टिकोट र घारको खिवाङ गाउँलाई समेटेको छ ।

पदमार्ग अन्तर्गत बाँसखर्क, हिस्तानको टिकोट र खिवाङमा २० जना क्षमताको होमस्टे सञ्चालन गरिएको छ । बाँसखर्क, डाँडाकटेरी, टिकोट, खिवाङमा डाइनिङ हल तथा नागी र मोहरेडाँडामा सामुदायिक लज सञ्चालन गरिएको छ ।

सामुदायिक लजबाट भएको आम्दानी प्रभावित बस्तीको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च हुने गरेको छ । यो पदमार्ग भ्रमणका लागि प्रतिदिन एकजनाका लागि २ हजारदेखि रु २ हजार ५ सय खर्च आवश्यक पर्छ ।

पर्यटकको आगमन बढेपछि नांगी र मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता बढाउने तयारी भएपनि आर्थिक स्रोतको अभाव भएको पदमार्ग सञ्चालक समितिका रमन पुनले बताए । सो ठाउँमा हाल २० जना क्षमताको सामुदायिक लज सञ्चालनमा छ । अनुकुल याममा क्षमताभन्दा बढी पर्यटक आउन थालेपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button