पोखरामा जारी दक्षिण एसियाली सेभेन ए साईडमा फुटबलमा भुटान र माल्दिभ्सले उठाए गम्भीर प्रश्न

पोखरा न्युज ।

भुटान र माल्दिभ्सले १२ औँ दक्षिण एसियाली सेभेन ए साईडमा फुटबल प्रतियोगितामा आफ्नो राष्ट्रिय टिमको सहभागितामा गम्भीर प्रश्न उठाएका छन्।

भुटान फुटबल संघ र माल्दिभ्स फुटबल एसोसिएसनले भुटान सेभेन ए साईड फेडेरेसन र माल्दिभ्स सेभेन ए साईड फेडेरेसन नामका कुनै संस्था नभएको जनाएका छन्। साथै दुबै देशको कुनै राष्ट्रिय सेभेन ए साईड टिम समेत नरहेको प्रष्ट पारेका छन्। भुटान फुटबल एसोसिएसनका पदाधिकारी सोनम जट्टुले आफु भुटान प्रतियोगितामा भाग लिएको समाचारले आश्चर्यचकित भएको बताए। साथै भुटानको सेभेन ए साईडको कुनै राष्ट्रिय टिम नरहेको र यस प्रतियोगितामा भाग लिएको विषयमा गम्भीर आपत्ति पनि जनाए। त्यस्तै माल्दिभ्स फुटबल एसोसिएसनका सचिव जवाजले अहिले प्रतियोगितामा भाग लिएको टिमको आफुसँग कुनै सम्बन्धन नरहेको र माल्दिभ्समा राष्ट्रिय सेभेन ए साईड टिम या संघ पनि नरहेको स्पष्ट पारे।

प्रतियोगिताको पहिलो दिन नेपालले भुटान माथी ४- ० को र बङ्लादेशले माल्दिभ्समाथी १६ – ०  को भारी अन्तरको जीत हासिल गरेका थिए।नेपाल सेभेन ए साईड संघ राष्ट्रिय खेलकुद परिषद् मा दर्ता भएको छ तर प्रतियोगिता सम्बन्धि कुनै जानकारी राखेपले पाएको छैन। त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागी खेलकुद मन्त्रालयबाट लिनुपर्ने अनिवार्य नो अब्जेक्सन लेटर समेत नलिईएको पाईएको छ।पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले सहभागी टिम नक्कली भएको जानकारी पाउँदा आफु चकित परेको बताए। साथै आयोजकले प्रतियोगिता सञ्चालनका लागी राखेपबाट कुनै अनुमती समेत नलिएको पौडेलले बताए।

त्यस्तै खेलकुद मन्त्रालयका प्रवक्ता राम थपलियालाई सम्पर्क गर्दा पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भईरहेको बारे अनभिज्ञ रहेको जनाए। उनले भने,” हामीलाई यस विषयमा कुनै जानकारी छैन। यस सम्बन्धमा राखेप र एन्फालाई सोध्नपर्छ। यो विषयमा अनुसन्धान गर्नु राखेपको जिम्मेवारी हो र २६ बुदेँ निर्देशन अनुसार राखेपले यसको नियन्त्रण गर्नुपर्छ। यदि आवश्यक परेमा खेलकुद मन्त्रालयले हस्तक्षेप गर्नेछ।” सेभेन ए साईड फुटबल एन्फाले निगरानी नराख्ने हुँदा यस सम्बन्धमा एन्फा पनि जिम्मेवार देखिदैन।

सेभेन ए साईड फुटबल फेडेरेसनका सचिब डि.बि नेपालीलाई यस सम्बन्धमा सम्पर्क गर्न खोज्दा उनले फोन अध्यक्ष नबिन पुनलाई दिएका थिए। पुनले प्रतियोगितामा भाग लिएका टिमको आधिकारिकता सम्बन्धी आफुलाई जानकारी नभएको बताए। उनले भने,” प्रतियोगिता दक्षिण एसियाली सेभेन ए साइड फेडेरेसनको आयोजनामा भएको हो र हामीले यसपटक प्रतियोगिता पोखरामा गरेका छौँ। हामीलाई सहभागी टिमहरु आधिकारिक हुन् भनेर जानकारी दिइएको थियो। यदि खेलाडीहरु सम्बन्धित देशको नभएमा म केहि भन्न सक्दिन।”

स्रोतका अनुसार भुटान, माल्दिभ्स लगायतका टिममा भारतका स्थानीय खेलाडी संलग्न छन्। माल्दिभ्सका एक अधिकारीले माल्दिभ्सको राष्ट्रिय टिम देखेर आफु अचम्मित भएको बताए। उनले टिमका एक पनि खेलाडी माल्दिभ्सको नभएको पनि जानकारी दिए। उनले भने ,” नेपालको खेलकुद मन्त्रालयले यसको अनुसन्धान गर्नुपर्छ।”

यो घटनाले नेपालको खेलकुद परिषद् र खेलकुद मन्त्रालय बिचको समन्वय स्पस्ट पार्छ। खेलकुद सम्बन्धित संस्थाहरु बिच उचित समन्वय नहुँदा जो कोहिले यस्ता गतिविधि गरेर नेपाली खेलका दर्शकलाई मुर्ख बनाउन सक्छ।

गोल नेपाल डटकम मा आधारित 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button