पोखरामा सम्पन्न दक्षिण एशियाली सेभेन ए साइड फुटबलको उपाधी बंगलादेशले चुम्यो

पोखरा न्युज ।

घरेलु टिम नेपाललाई टाइब्रेकरमा ३–२ को जित निकाल्दै १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बंगलादेशल चुम्यो ।

फेवाताल किनार बाराहीघाट खेल मैदानमा बिहीबार भएको फाइनलमा बंगलादेशी टिमले टाइब्रेकरमा नेपाललाई हराउन सफल भएपछि उपाधिसहित नगद २ लाख रुपैयाँ पुरस्कार हात पा¥यो । निर्धारित ५० मिनेटको खेल १–१ को गोल बराबरीमा टुंगिएको थियो । अतिरिक्त १० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । नेपालका तर्फबाट क्याप्टेन रवि मगरले प्रहार गरेको पेनाल्टी प्रहार विपक्षी गोलकीपर आजादले उत्कृष्ट बचाउ गर्दा नेपाल उपविजेतामा समेटिन पुग्यो । नेपालले पुरस्कारस्वरुप १ लाख रुपैयाँ हात पा¥यो । टाइब्रेकरमा बंगलादेशका तर्फबाट सजीव, असुफूल र तुफिनको प्रहार गोलमा परिणत भएको थियो । नेपालका लागि हरि गुरुङ र विनोद गुरुङले गोल गरे ।

खेलमा बंगलादेशले ११ औं मिनेटमा अग्रता लिएको थियो । फाइनल खेलका म्याच अफ दी म्याच घोषित उज्ज्वलले गोल गर्दै टोलीलाई अग्रता दिलाएक । १–० को गोलअन्तर कायम राख्दै पहिलो हाफ टुंगाएकोमा बंगलादेशसँग नेपालले खेलको ३६ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । नेपालको तर्फबाट विनोद गुरुङले बराबरी गोल गरे । जितपछि बंगलादेशका टिम म्यानेजर मोहम्मद अल फारुकले आफूहरु जित्नकै लागि नेपाल आएको भन्दै खेलाडीको मेहनतले जित सम्भव भएको प्रतिक्रिया दिए । उनले नेपाली टिमले पनि खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा गरे ।

उता, घरेलु टिमका कोच राजेन्द्र तामाङले विपक्षीको काउन्टर एट्याक र डिप डिफेन्सका कारण पराजित हुनु परेको बताए । उनले आफ्नो टिमका भरपर्दा खेलाडी अनिल गुरुङ र सुनिल बि.क.को अभाव खड्किएको प्रतिक्रिया दिए । फाइनलमा नेपाली टिममा ८ जनामात्र खेलाडीहरु सिमित थियो । प्रतियोगिताको फेयर प्ले टिमको अवार्ड भारतले पायो भने म्यान अफ दि सिरिजको ट्रफी बंगलादेशी कप्तान उज्ज्वलले पाए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्यसचिव समेत रहेका सांसद जीवनराम श्रेष्ठ, एशियन सेभेन ए साइड फुटबल महासंघका महासचिव टी रवि कुशिया, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुन, बंगलादेश सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष सहिम, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, आयोजक संस्था उपाध्यक्ष दीपकबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button