पोखराको बटरफ्लाई फाउण्डेशन र साउदीको जेजिल फाउण्डेशनबीच साझेदारी

पोखरा लेखनाथ महानगरपालिका–६, लेकसाइडस्थित बटरफ्लाई फाउण्डेशन र साउदी अरवस्थित जेजिल फाउण्डेशनबीच बालबालिकाको क्षेत्रमा साझेदारी गर्ने उद्देश्यले संयुक्त हस्ताक्षर गरिएको छ।

बालबालिकाको क्षेत्रमा साझेदारी गर्न बटरफ्लाई फाउण्डेशनका अध्यक्ष गोविन्दराज पहारी र जेजिल फाउण्डेशनका प्रबन्ध निर्देशक यासेर एम अलहार्बीले संयुक्त हस्ताक्षर गरे। जेजिल फाउण्डेशनले शुक्रबार एक कार्यक्रमबीच बटरफ्लाई फाउण्डेशनका लागि एक गिफ्ट सप खोलिदिएको छ। बटरफ्लाइ फाउण्डेशनको मूल गेटमा सञ्चालनमा आएको गिफ्ट सपको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी र गैरसरकारी महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले संयुक्त उद्घाटन गरेका हुन्। गिफ्ट सपमा बालबालिकाहरुका लागि खेलौना, पुस्तकालय र हेल्थ केयर सेन्टर स्थापना गरिएका छन्।

सन् २००३ मा निरपेक्ष गरिवीको रेखामुनी रहेका बालबालिकाहरुका लागि शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको बिशुद्ध मुनाफारहित सेवामूलक संस्था बटरफ्लाई फाउण्डेशनमा हाल दिवा सेवा हेरचाहको सेवा प्रदान गर्दै आएको अध्यक्ष गोविन्दराज पहारीले बताए। हाल फाउण्डेशनमा ३५ जना बालबालिकाहरु रहेको पहारीले जानकारी दिए।

शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई बिशुद्ध सेवा प्रदान गर्ने उद्देश्यले फाउण्डेशन स्थापना गरेको पहारीले उल्लेख गरे। ‘शिक्षा र स्वास्थ्य हरेक बालबालिकाहरुको नैसर्गिक अधिकार हो,’ पहारीले थपे, ‘कोही पनि बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट र स्वास्थ्य सेवाको अवसरबाट बञ्चित हुन नपरोस भन्ने फाउण्डेशनको उद्देश्य छ।’

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button