सुन्न र बोल्न नसक्ने पाल्पाका शशिराजको आम्दानी चार लाख

पोखरा न्युज – ११ माघ ।

रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।

शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन् । उनी तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिन्छन् । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्नेखालको छ ।

डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गर्नुभएको छ । तरकारी खेतीका अलवा अहिले उनले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आउनुभएको छ । डोटेलले अहिले दैनिक २० लिटर दूध बिक्री गर्नुहुन्छ । उनले वार्षिक रु चार लाखसम्म आम्दानी गर्छन ।

साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुँदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाएका  छन् । छोराको व्यवसायबाट आमा भगवती निकै खुशी छन् ।

“छजना सन्तानमध्ये एटा छोरो मानसिक रुपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ”, भगवतीले भनिन “सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।”

शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफै मोटरसाइकल चलाएर बजार पुग्छन । कक्षा ८ सम्मको शिक्षा लिएका उनलाई श्रीमती दुर्गाले साथ दिँदैआएकी छिन् । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उनी आफैले गर्दै आएका छन् ।

“सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,” उनले भनिन । शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गरेका छन् । यसले व्यवसाय गर्न सजिलो भएको छ । उनको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम ग¥यो भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बनेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button