पाँच पटकको विजेता मनाङ पुलिससंग स्तब्ध, पुलिस आहा राराको सेमिफाइनलमा

पोखरा न्युज , १६ माघ ।

आहा ∕ रारा गोल्डकपको सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङ्दी क्लव यस पटक भने पुलिससंग स्तब्ध भएको छ।

पोखरा रंगलाशामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन मनाङ पुलिससंग ३–१ को गोल अन्तरले पराजित हुँदै सेमिफाइनल यात्रा टुङ्ग्याएको छ। पुलिसले सेमीफाइनलमा धरान फुटबल क्लबसंग फाइनलका लागि खेल्नेछ। पुलिसको जितमा निरकुमार राई, दिनेश राजभण्डारी र सुमन लामाले एक÷एक गोल गरे। मनाङका बिशाल राईले शान्त्वना एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी खेलेका दुबै टिमबीचको टर्निङप्वाइन्ट खेलको ५३ औं मिनेटमा पुलिसका निरकुमार राईले गराए। उनले डि–वक्स नजिकबाट दोश्रो वार च्याप्दै गोल गरेका हुन्। खेलको ५७ औं मिनेटमा दिनेश राजभण्डारीले एक गोल थपेर जित सुनिश्चित पारे। उनले तेज तामाङको कर्नर वललाई हेड गोल गरेका हुन्। खेलको ७२ औं मिनेटमा सुमन लामाले एक गोल गरी गोल अन्तर फराकिलो पारे। उनले मनाङका डिफेन्स रबि थापा र गोलरक्षक दिनेश थापालाई विट गर्दै गोल गरेका हुन्।

खेलमा पुलिसका सुमन लामा म्यान अफ दी म्याच घोषित भए। मनाङका बिशाल राईले खेलको ८२ औं मिनेटमा एकमात्र शान्त्वना गोल गरे। उनले अनिल गुरुङको क्रस पासमा हेड गोल गरेका हुन्। आहा ∕ राराको इतिहासमा ९ पटक फाइनल यात्रा तय गरेको र ५ पटक विजेता बनेको मनाङले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततःचिरपरिचित प्रतिद्धन्दी टिम पुलिससंग क्वाटरफाइनलमै पराजित हुनु प¥यो। खेलको ३० औं मिनेटमा मनाङका सन्तोष साहुखलले करिब २५ यार्ड नजिकबाट प्रहार गरेको बल सेकेण्डवार नजिकैबाट बाहिरिएको थियो। त्यस्तै, बिशाल राईले खेलको ३७ औं मिनेटमा करिब २५ यार्ड नजिकबाट पोष्टमा चार्ज गरेको बल क्रसवार नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफमा पुलिसको दवावमा परेको मनाङले दोश्रो हाफको अन्तिम समयमा केही दवावमा पारेको थियो। यद्यपी, पुलिसले पाएका केही अवसर सदुपयोग हुन सकेन। सुमन लामा, कप्तान हेम तामाङ, निरकुमार राई लगायतले पाएको अवसर गुमेको थियो। दोश्रो र तेश्रो आहा ∕ राराको फाइनलमा मनाङले पुलिसलाई जितेको थियो। क्याराभान गोल्डकपमा भने पुलिसले मनाङलाई जितेको थियो। अन्तिम क्वाटरफाइनलमा दर्शकको उपस्थिति भने अन्य दिनको तुलनामा बढी रहेको थियो।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफूहरुले विदेशी चारजना भरपर्दा खेलाडीहरु बिना मैदानमा उत्रिनुपर्दा हार बेहोर्नुपरेको बताए। ‘हाम्रो स्तर के रैछ भन्ने बल्ल थाहा भयो,’ उनले भने, ‘हामीसंग विदेशी खेलाडीविनाको नतिजा  यस्तो हुने रैछ। हामी पूर्णरुपले विदेशी खेलाडीमा निर्भर हुने गरेका रहेछौं।’

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफूहरुसंग अधिकांश नयाँ युवा खेलाडीहरु भएकोले आफ्नो रणनीति अनुसार खेलेर जित भएको दाबी गरे। ‘मेरो योजना अनुसार खेलाडीहरुले खेले त्यसैले हाम्रो जित सहज भयो,’ उनले भने, ‘अर्को खेलमा हामीले नयाँ रणनीतिमा खेल्नेछौं।’
यसअघि, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले सुदिस कुमार पाण्डेलाई वल हस्तान्तरण गरी उक्त खेलको शुभारम्भ गरेका हुन्।

बुधबार पहिलो सेमिफाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धरा क्लव र थ्रि–स्टार क्लवबीच खेल हुनेछ । बंगलादेशको उत्तर बरिन्धरा क्लवले सुदुरपश्चिमाञ्चल ११ धनगढीलाई र थ्रि–स्टारले सशस्त्र प्रहरी वलको एपीएफलाई पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button