पोखारामा अन्तराष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिताको उपाधि क्यानडाका वालेसलाई

महिला तर्फको उपाधि नेपाली खेलाडी लक्ष्मि मगरलाई

डिएनबी, पोखरा न्युज – ४ फागुन ।

पोखरामा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिताको उपाधि क्यानडाका कोरी वालेसले जितेका छन। उनले ४ दिनको प्रतियोगितामा निर्धारित दुरी २ सय ६१ किलोमिटर १० घण्टा १४ मिनेट १२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन।

त्यसै गरी नेपालका नारायण गोपाल महर्जनले निर्धारित दुरी १० घण्टा २३ मिनेट ४७ सेकेण्डमा पार गर्दै दोश्रो भएभने ११ घण्टा ११ मिनेट ५ सेकेण्डमा उक्त दुरी पार गरेका ओकेश बज्रचार्यले तेश्रो स्थान हासिल गरे । महिला तर्फ भने नेपाली खेलाडीकै वर्चश्व रह्यो । महिला तर्फ लक्ष्मि मगरले उपाधि जित्न सफल भईन । उनले निर्धारित दुरी १३ घण्टा ३८ मिनेट ३४ सेकेण्डमा पार गरी उपाधि जितेकी हुन। प्रतियोगितामा उसा खनाल दोश्रो भईन भने रोजा केसी तेश्रो भएकी छन।

विजयी खेलाडीलाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदार, पर्यटन व्यवसायी गोविन्दराज पहारी, कास्की जिल्ला साइक्लिङ संघका द्धितीय उपाध्यक्ष शंकर भण्डारी, सचिव जगन विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए । कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा अन्तराष्ट्रिय मापदण्ड अनुसार चार दिन सम्म पोखरामा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दिलिपराज श्रेष्ठले बताए ।

पहिलो दिनमा प्रतियोगिहरुले पामे देखि चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, कृस्ती, मट्टीखान, छोररेपाटन, स्तुपा, सानोताल हुँदै पुन पामे सम्मको करिब ४० किलोमिटर दुरी पार गरेका थिए । दोस्रो दिनको छोरेपाटन बाट सुरु गरि शिवालय, कृस्ती, मट्टि खान, हुँदै छोरेपाटनमा पुगी सकिएको थियो। यसै गरि तेस्रो दिनको खेल क्षेत्र बेगनासलाई रोजिएको थियो। बेगनासताल क्षेत्र बाट सुरु भएको प्रतियोगिता कालिका वेगनास हुँदै रुपाताल हुँदै बेगनासमा पुगी समापन भयो भने चौथो दिनको बाटुलेचौर बाट सुरु भइ डाँड गाँउ, अर्मलाकोट, अर्मला डिही, महेन्द्रगुफा हुँदै बाटुलेचौरमा पुगी समापन भएको हो । पोखरा फोर स्टेज साइकल रेस को नामाकरण गरिएको प्रतियोगितामा ५ जना महिला प्रतियोगि सहभागी भएका थिए । प्रतियोगितामा बेलायत, फ्रान्स, अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, स्विजरलैण्ड, अमेरीका लगायतका ८ देशका खेलाडी सहभागि भएकोे संघका सचिव जगन विश्वकर्माले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button