म्याग्दीको विद्यालयलाई बेल्जियमबाट १५ लाख सहयोग

पोखरा न्युज – ०६ फागुन ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई बेल्जियमको एक संस्थाले रु १५ लाख आर्थिक सहयोग गरेको छ ।

जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायबाट चन्दा र जिल्ला शिक्षा कार्यालयको सहयोगबाट दुई वर्ष अगाडि शुरु भएको भवन निर्माणमा बेल्जियममा सञ्चालित हिमालयन प्रोजेक्टका पाउल भान्द्रेले अन्नपूर्ण गाउँपालिका–६ दीपक पुनमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाअध्यक्ष पद्म पुनलाई रु १५ लाख नगद हस्तान्तरण गरे ।

विद्यालयको भवन जीर्ण हुँदा शिक्षक, विद्यार्थीको ज्यान नै जोखिममा परेपछि गाउँका विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेरसमेत भवनका लागि सहयोग जुटाएका थिए ।

‘आफ्नो गाँस काटेरसमेत भवनमा सहयोग जुटाइरहेका छौँ, गाउँदेखि विश्वभर रहेका भकिम्लीवासीको सक्रियताले सहज भएको छ’ विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले भने ।

भौतिक संरचनाको अभावले शैक्षिक गतिविधिमा समेत प्रत्यक्ष असर गरेकाले संरचना निर्माणको क्रममा खुल्लाचौरमा टहरा हालेर प्राविदेखि माविसम्मको कक्षा सञ्चालन भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button