पोखरामा सार्वजनिक यातायातका चालक र सहचालकका लागि निःशुल्क आँखा शिविर हुने

पोखरा न्युज – १० फागुन ।

सार्वजनिक यातायातका चालक र सहचालकका लागि निःशुल्क आँखा परीक्षण हुने भएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष तथा हिमालयन आँखा अस्पताल पोखराको २५ औं वार्षिकोत्सवको अवसरमा फागुन १३ गते आइतबार कार्यक्रम हुन लागेको हो।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले लायन्स अन्तर्राष्ट्रिय स्थापनाको एकसय वर्षको सन्दर्भमा तय गरेका विभिन्न सयवटा कार्यक्रममध्ये चालक र सहचालकलाई आँखा शिविर गर्न लागिएको हो। डिष्ट्रिक्टको रिजन ४ अन्तरगतका क्लबहरुको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालको प्राङ्गणमा आइतबार बिहान ८ बजेदेखि शिविर हुने रिजन चियरपर्सन तथा कार्यक्रम संयोजक विनोद ढुङ्गानाले जानकारी दिए।

पोखरा क्षेत्रमा रहेका यातायातसंग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको हो। चालक र सहचालकको आँखा शिविर डिष्ट्रिक्टको महत्वपूर्ण कार्यक्रम भएकाले तयारीलाई तिब्र बनाइएको ढुङ्गानाले जानकारी दिए। यसैक्रममा बिहीबार तयारी बैठक सम्पन्न भएको छ। बैठकमा बोल्दै हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र महर्जनले कार्यक्रम सफल पार्न अस्पतालको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

डिष्ट्रिक्टका सेन्टेनियल प्रोग्राम र सेलेबे्रसन डिपार्टमेन्ट चिफ तथा सिनियर एडभाइजर राजेन्द्रकुमार बाटाजूले चालक र सहचालकका लागि निःशुल्क आँखा परीक्षण आयोजना गरेर समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन लागिएको बताए । साइट फस्ट र भिजन डिपार्टमेन्ट चिफ तथा सिनियर एडभाइजर सुचित्रा थापाले आँखा र लायन्स पर्यायबाची शब्दजस्तै बनेको बताउँदै सचेतना र आँशा शिविरको लक्षित समूह चालक र सहचालक हुनु उपलब्धीपूर्ण रहेको धारणा राखिन्। जोन चियरपर्सन भेषराज पोखरेलले कार्यक्रम सफल पार्न सम्पूर्ण क्लबहरु सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाइन्।

चालक र सहचालकका लागि आँखा परीक्षण पश्चात आवश्यकताअनुसार चस्मा तथा औषधी निःशुल्क वितरण गरिने ढुंगानाले जानकारी दिए। कार्यक्रमलाई सफल पार्न आवश्यकताअनुसार सहयोग गर्ने गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिका महासचिव अमृत शर्मा तिमिल्सिनाले बताए।

सार्वजनिक यातायातका सम्पूर्ण चालक तथा सहचालकहरुलाई शिविरमा उपस्थित भएर आँखा परीक्षण गराउन सार्वजनिक रुपमा आह्वान गरिएको डिष्ट्रिक्टका मिडिया रिलेसन कमिटि मेम्बर तथा कार्यक्रमका प्रचार प्रसार संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button